बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना पक्राउ


  • संजय रेग्मी
  • फाल्गुन १ २०८१, बिहिबार

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक बनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ परेका हुन् ।
गत माघ २९ गते मध्यान्ह आर्थरको बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको थियो । घटनामा खोजतलास गर्दा उनीहरू दुई जनाले आगलागी गराएको थाहा भएपछि उनीहरूलाई सोही दिन अपराह्न पक्राउ गरिएको हो । दुवै जना अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय पर्वतमा पठाइएको छ ।
डिभिजन वन कार्यालय पर्वतका सूचना अधिकारी तथा वन डढेलो सम्बन्धी फोकल पर्सन रामबहादुर बि.क.ले वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था अनुसार उनीहरूमाथि कारबाही हुने बताए । उक्त दफामा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ ।
उक्त कसुर ठहर भएमा सोही ऐनको दफा ५० मा डढेलोले जति क्षति भएको छ त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद, ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको बि.क.ले बताए ।
पर्वतमा पोहोर साल ७० वटा आगलागीका घटना भएका थिए भने करिब दुई हजार हेक्टर क्षेत्रफलको वन प्रभावित भएको थियो । धेरै स्थानमा आगलागीका घट्नाहरु भएकोले यस वर्ष सरोकारवाला निकायहरूले आगलागी हुन नदिनका लागि कडाइ गरिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षाकर्मीहरूलाई डढेलो नियन्त्रणका लागि मात्रै नभई डढेलो लगाउनेहरूलाई पक्राउ गरी कानुन अनुसार कारबाही गरिने बताए ।
जिल्लाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारीहरू खटाएर गाउँ गाउँमा निगरानीको काम भइरहेको बताए । अघिल्लो वर्ष जिल्लाका धेरै स्थानमा डढेलो लागेको र नियन्त्रणमा निकै समस्या भएकोले यस वर्ष दोषीहरूलाई पत्ता लगाउने गरी सुरक्षाकर्मीहरूसँग समन्वय भइरहेको उनको भनाइ छ ।
प्रहरी नायव उपरीक्षक विष्टले पनि प्रहरीले गोप्य रूपमा वन क्षेत्रहरूमा निगरानी गरिरहेको भन्दै कसैले १०० मा सम्पर्क गरेर वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेका छन् । डढेलो लगाएको व्यक्तिको बारेमा जानकारी दिने व्यक्ति गोप्य रहने भएकोले जो कसैले पनि डढेलो लगाएको .व्यक्तिको पहिचान वा शङ्का गरेको भएमा खबर गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->