बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन दिने आँखा शिविरमा पाँच हजारको उपचार, डेढ सयको शल्यक्रिया

तीन दिने आँखा शिविरमा पाँच हजारको उपचार, डेढ सयको शल्यक्रिया


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०८१, शुक्रबार

पर्वत/आँखा सम्बन्धी समस्याहरू बोकेर उपचारको पर्खाइमा रहेकाहरूको लागि प्रदेश अस्पताल पर्वतमा तीन दिने आँखा शिविर सम्पन्न भएको छ ।
रेज होप युकेको आर्थिक सहयोगमा नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र प्रदेश (पर्वत) अस्पतालको प्राविधिक सहयोगमा पर्वतमा सक्रिय लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्स क्लबहरूको आयोजनामा शिविरको आयोजना भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार माघ २९, ३० र फागुन एक गते आयोजना भएको शिविरमा पाँच हजार भन्दा बढी व्यक्तिहरूको आँखाको जाँच गरी निःशुल्क औषधी तथा आवश्यक परेकाहरूलाई चस्मा वितरण गरिएको छ ।
यस्तै पर्वत जिल्लाको इतिहासमा नै पहिलो पटक तीन दिनको अवधिमा एक सय ५६ जना व्यक्तिहरूको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहका विभिन्न स्थानहरूमा एक महिना अगाडिदेखि आयोजना गरिएका निःशुल्क ‘स्क्रिनिङ’ शिविरहरूमा मोतियोविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको यकिन गरिएको थियो । ती शिविरहरूबाट पत्ता लागेकाहरू तथा प्रदेश अस्पताल आयोजना गरिएको शिविरमा समेत ‘स्क्रिनिङ’ गरेर गरेर सकेसम्म धेरै बिरामीहरूलाई सेवा दिने गरी शिविरको आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
शिविर आयोजना गर्न एनआरएनए यु.के, तमु धिँ यु.के, तमु धिँ आमा समूह, सहारा यु.के, गुरुङ फिल्म एसोसिएसन, लायन्स आँखा उपचार केन्द्र कुश्मा लगायतका संस्थाहरूले पनि सहयोग गरेका थिए ।
प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमै माघ २९ र ३० गते राखिएको ‘स्क्रिनिङ’ शिविमा सात सय भन्दा बढी व्यक्तिहरूले आँखाको जाँच गराएका थिए । अधिकांश बिरामीहरू पर्वत जिल्लाकै रहेको र केही मात्रामा बागलुङका बिरामीहरूले पनि सेवा पाएको उनले बताए । शल्यक्रिया गरिएकाहरूमध्ये एक सय ५४ जनाको एउटा आँखामा मोतिया विन्दुको समस्या रहेको थियो भने दुई जनाको दुवै आँखामा समस्या रहेकोले शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->