मुस्ताङ/ गत आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङ गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको नतिजा अनुसार लोमान्थाङले ६७ दशमलव ६ अंक प्राप्त गरी पहिलो बनेको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।
आयोगको नतिजा अनुसार घरपझोङ गाउँपालिका ६१ दशमलव २ अंक पाएर दोस्रो बनेको छ भने लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ५९ दशमलव ६ अंक ल्याएर तेस्रो स्थानमा रहेको छ । थासाङ गाउँपालिकाले ५१ दशमलव ९ अंक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ४२ दशमलव ९ अंक प्राप्त गरेका छन् । कार्यसम्पादनकै आधारमा वित्तिय समानीकरण अनुदान बजेट विनियोजन गर्ने भएकाले वित्त आयोगकाे नतिजा स्थानीय तहका लागि महत्वपूर्ण परीक्षणको रुपमा लिइन्छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्छ । जसमा असार १० भित्र बजेट पेश, असारभित्रै बजेट पारित, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरेरनगरेको लगायतका सूचकहरुको आधार मुल्यांकन गरिएको हो । आवधिक योजना तर्जुमा, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, विद्यार्थी टिकाउ दर, ४ पटक गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायत सूचक पनि कार्यसम्पादन मुल्यांकनमा पर्छन । मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।





