पोखरा/ २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिवार शुभारम्भ भएको छ । आन्तरिक र बाह्य गरी यसवर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण थप्न विभिन्न प्याकेज दिने तयारीसाथ भ्रमण वर्ष घोषणा गरिएको हो ।

भ्रमण वर्षको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । तर दुर्भाग्य उद्घाटनसंगै बेलुनका झुत्तामा आगो सल्किदाँ आगोको लप्काले अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुन पुगे । दुवैजनालाइ उपचारका लागि काठमाडाैै लगिएकाे छ । यसले उद्घाटन समारोह खल्लो हुन पुगेको थियो । यद्यपी कार्यक्रममा पोखरा महानगरका ३३ वटै वटाबाट उल्लेख्यमात्रामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा महानगरले भ्रमण वर्ष मनाउन लागेको हो । गत वर्षको चैत ४ मा पोखरा पर्यटकीय राजधानी घोषणा भएको थियो । भ्रमण वर्षभरि नै पोखराको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुनेछन् । घोषणा कार्यक्रम तथा वर्षैभरी अभियानका विभिन्न गतिविधि संचालन गर्नका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति र अन्य ४३ समिति गठन गरिएको छ ।

























