सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारीमार्फत रेशको तिङरिङ र बोरमा चिया खेती

सहकारीमार्फत रेशको तिङरिङ र बोरमा चिया खेती


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८१, मंगलबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका ७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभुत विद्यालयको वनमा चिया खेती गरिएको हो ।
रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँच स्थानमा चिया खेती गरिएको रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । विद्यालयको पाखो जमिन १५ वर्षको लागि भाडामा लिईएको र सार्वजनिक जमिनमा पाँच वटा ब्लक बनाएर १ सय ४० रोपनीमा चिया खेती शुरु गरिएको वडाध्यक्ष लामिछानेले बताए ।
‘परीक्षणको रुपमा लगाईएको चियाले उत्पादन दिन थालेपछि चिया खेती अवलोकन गर्न आउने पाहुनालाई कोसेलीका रूपमा चियाको ब्रान्ड बनाएर प्रदान गर्न थालेका छौ’ वडाध्यक्ष लामिछानेले भने । चिया बगानमा आउजाउ गर्न सडक र खानेपानी लगायतका पूर्वाधार अभाव भएकाले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा भौतिक संरचना निर्माणमा पहल भइरहेको लामिछानेले बताए ।
चिया बगानमा रहेका १ लाख १० हजारभन्दा बढी बिरुवामध्ये ६० हजारले उत्पादन दिन थालेका छन् । लामिछानेका अनुसार, वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएपनि पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्यव भइरहेको लामिछानेको भनाई छ ।
चिया उत्पादन धेरै हुन थालेपछि उद्योग संचालनसंगै बजारीकरणमा अन्यौल भईरहेको रेश साना किसान सहकारीका अध्यक्ष उजेली शर्माले बताइन् । प्रशोधित चियाका लागि उपकरणको अभाव हुँदा सहकारीले सोचअनुसार उत्पादन गर्न नसकेको र हाल परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्दै आएको छ ।
बाँझो जमिनलाई उत्पादनमूलक कार्यमा जोडेपछि स्थानीय पनि हर्षित छन् । चिया खेतीमार्फत स्थानीयलाई समृद्ध बनाउने वडाको योजना छ । बढ्दो बसाइसराइलाई नियन्त्रण गर्न चियाखेती नमुनायोग्य काम भएको चिया खेती अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले भने, ‘बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक उन्नति गर्न स्थानीयले गरेका काममा प्रदेश सरकारले हातेमालो गर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->