सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जुरेढुंगा कृषक समूहलाई ओखरका बिरुवा वितरण

जुरेढुंगा कृषक समूहलाई ओखरका बिरुवा वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८१, बुधबार

बागलुङ/बागलुङ नगरपालिकाको ५० प्रतिशत लागत अनुदानमा किसानलाई ओखरका बिरुवा बितरण गरिएको छ । वडा नंं ९ तित्याङस्थित जुरे ढुंगा कृषक समूहले १ सय ४० रोपनी जमिनमा ओखर खेतीको तयारी गरेपछि नगरपालिकाले लागत साझेदारीमा १ हजार ५ सय बिरुवा ल्याएको हो । समूहले स्थानीय किसानको जग्गा एकीकृत गरेर ओखर खेती गर्न लागेको अध्यक्ष लिलाबहादुर खड्काले बताए ।
बसाइ सराइले पहाडका बस्ती रित्तो बन्दै गएपछि किसानले उजाडिएको बारी र जंगल फाँडेर कृषि फसल उत्पादनको तयारी गरिरहेका हुन् । १ हजार ६ सय मीटर देखि ३ हजार मीटर सम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको ओखरका बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकोले जुम्लाबाट झिकाइएको बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले बताइन् । ‘हाल रोप्नका लागि तयार पारिएको स्थान १ हजार ७ सय देखि २ हजार मीटरको उचाइमा छ, त्यसैले सोही प्रकृतिको बिरुवा मगाएका हौं’ बरुवालले भनिन्, ‘नगदे बालीको रुपमा बिकास भएकोले किसानको रोजाइमा ओखर पर्दै गएको छ ।’ चालु वर्ष नगरपालिकाले बिनियोजन गरेको १२ लाख रुपैयाँबाट ओखर लगायत अन्य साझेदारीको बिरुवा उत्पादन र बितरणको काम भएको हो । प्रति बिरुवा ३ सय २० रुपैंयाँ पर्ने ओखरको पछिल्लो समय माग बढी रहेको छ ।
वडा नंं ९ मा यस अघि पनि ओखरको व्यवसायिक खेती भैरहेको अध्यक्ष राजु थापाले बताए । यस अघि नगरपालिकाको सामान्य सहयोग र प्राविधिक सहायता लिएर व्यवसायिक खेती थालिएको थियो भने चालुबर्ष किसानको समूहमा ५० प्रतिशत अनुदानमै लगानी भएको हो । वडा नंं ९ कै डोयमा स्थानीय कृष्णबहादुर खड्का र देवबहादुर खड्का मिलेर ४ सय ओखरका बिरुवा रोपिसकेका छन् ।
नगरपालिकाले तित्याङको डोयलाई पर्यटकीय स्थल बनाउने गरी ब्लु हित पर्यटकीय क्षेत्र अभियान नै चलाइसकेको छ । उक्त स्थानकै नजिकमा शुरु भएको ओखरखेतीले बजार बिस्तारमा पनि सहजीकरण हुने किसानले आस गरेका छन् । ओखरका बिरुवा माघको १५ देखि फागुन १५ गते सम्ममा लगाइसक्दा राम्रो हुने भएपछि सोही अनुसार रोप्ने तयारी समते भएको थापाले बताए । किसानलाई व्वयसायिक बनाउने र समय अनुकुलको बजारीकरणमा ओखर बढी महत्वपूर्ण भएको थापाले बताए ।
बागलुङ नगरपालिका वडा नंं ७ स्थित सूर्यनन्द एकीकृत कृषि फर्मले पनि ओखरको माग गरेको बरुवालले जानकारी दिइन् । त्यस बाहेक चालुबर्ष नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमै मौरी सहितका ५८ घार बितरण गर्न लागेको हो । त्यसकालागि कुल ७ हजार ७ सयमा एक घार मूल्य पर्ने उनले जनाइन् । किसानले लागतको ५० प्रतिशत रकम बुझाएपछि मौरीघार लैजान सक्नेछन् । त्यसकालागि वडा नंं १ देखि ७ तथा वडा नंं १२ र १३ ले लैजानेछन् । अन्य वडाले मौरीघारकालागि माग नगरेका हुन् ।
त्यस्तै नगरपालिकलो चालु बर्ष ९६ वटा प्लाष्टिक टनेल समेत अनुदानमा दिन लागेको हो । एउटा टनेलकालागि झण्डै ७ हजार लागत लाग्नेछ । कृषि उत्पादन र व्यवसायिकीकरणकालागि ती कार्यक्रम जोडिएको हो । उत्पादनमा जोडिने किसानकालागि अनुदानका कार्यक्रम पनि सँगै जाने गरी नगरपालिकाले योजना, नीति र बजेटको व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->