
बागलुङ/घरघरमा आलु खेती त धेरै भैरहेको छ । तर ठूलो उत्पादन गरेर बजार बिस्तार गर्न पर्वतको बिहादीका किसानले भने समूहमा आलु खेती अभियान चलाएका छन् ।
बिहादी गाउँपालिका ५ को खोरपोखरा स्थित सिबजी खोलाका किसानले भने घरमा लगाएको आलु बाहेक समूहमापनि खेती गरेका छन् । स्थानीय १९ जना किसान यतिबेला खेतैभरी भेटिन्छन् । उनीहरुले एकै पटक ३० टन आलु फलाउने लक्ष्य सुनाए ।
खोरपोखरा स्थित ‘सिबजी खोला कृषक समूह’मा आबद्द भएका १९ जना किसानले ५० रोपनी जमिनमा सामुहिक आलु खेती गरेका छन् । ‘जनकदेव’ जातको खायन आलु अहिले खन्ने बेला भएको हो । किसानले प्रति केजी ५० रुपैयाँमा बारीबाटै आलु बेच्न सक्ने बताए । लक्ष्य अनुसारको उत्पादन समेत भएकोले भण्डारन समेत चाहिएको समूहका अध्यक्ष मेघनाथ भुषालले बताए ।
घरमा लगाएको घरमै खाने, समूहमा लगाएको बेचेर कमाइ गर्ने लक्ष्य उनीहरुको छ । समूहका हरेक सदस्यले यो बर्ष आलु बेचेर मात्रै झण्डै एकएकलाख रुपैयाँ कमाउने योजनामा छन् । स्थानीय नैना काफ्लेले सानो मेहेनतले घरघरमा एकलाख बराबरको कमाइ आलुबाट मात्रै हुने बताइन् । यो हौसलाले आगामी बर्ष हरेक किसानले दोब्बर आलु फलाउने लक्ष्य उनीहरुले राखेका छन् । बैदेशिक रोजगारीमा जाने युवाहरुले पनि गाउँफर्केर आलु लगाउने योजना बनाएको उनले सुनाइन् । यस अघि केही जमिनमा गहुँ र तोरी लगाएपछि अरु बाँझै छाडीने जमिन अहिले आलुले हरियाली भएको छ ।
शिबजीखोला कृषक समूहले नै ‘सेजिटा’ जातको आलु समेत छुट्टै नमूनाको रुपमा लगाएका छन् । कृषि ज्ञान केन्द्रले चालुबर्ष बीउ मात्रै उत्पादन गर्न विहादी गाउँपालिका वडा नंं १ को सिर्जनशिल कृषक समूह, वडा नंं ४ को आत्मनिर्भर कृष्णक समूह र वडा नंं ५ को शिबजीखोला कृषक समूहमा ‘सेजिटा’ आलु लगाइएको हो । ३० क्वीन्टल रोपिएकोमा उत्पादन हुने सबै आलु आगामी बर्षकालागि बीउकालागि मात्र उपयोग गर्ने लक्ष्य छ । यो आलुबाट ‘आलु चिप्स’ र ‘फ्रेन्स फ्राइ’ बनाउने गरिन्छ । बुटवल स्थित ‘फस्ट च्वाइस कंपनी’ले किसानको आलु खरिद गरिदिने आश्वासन दिएपछि चालु वर्ष बीउको लागि आलु लगाइएको आइपिएम पाठशालाका प्रमुख तथा कृषि प्राविधिक ऋषिराम भुषालले बताए ।
पछिल्लो समय पर्वतलाई आलुबाट पनि चिनाउने गरी उत्पादन बढाइएको छ । ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार पर्वतमा चालुबर्ष मात्रै ६१ कृषक समूहका १ हजार ३ सय हेक्टर जमिनमा आलु खेती गर्न किसानलाई बीउ र प्रविधिमा अनुदान दिएको छ । समूहमा उत्पादन गर्ने किसानकालागि कृषि ज्ञानकेन्द्र पर्वतले बीउमा ७० प्रतिशत र प्रविधिमा ५० प्रतिशत अनुदान दिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।
किसानको उत्पादनलाई बुटवल र स्याङजा सम्मका व्यवसायीले माग गरिरहेकोले बजारीकरणमा सहज हुने कृषि प्राविधिक ऋषिराम भुषालले बताए । बृहत उत्पादन भयो भने बजारको समस्या पर्दैन,’ भुषालले भने, ‘किसानले उचित मूल्य पाउने अवस्था बन्दैछ ।’
यो अवस्था देखेपछि गाउँपालिकाका प्रमुख परबिन गुरुङले पनि किसानलाई उत्पादनमा साथ दिने बताएका छन् । समूह गठन गरेर व्यावसायिक कृषि फसल लगाउने काममा वडाबाट असहयोग भएपछि किसानहरु केन्द्रमा माग गर्न पुगेका थिए ।





