पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले आप्mनो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन गर्दै उनले स्थानीय श्रोत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले प्रयोग गर्दा स्थानीय तह श्रोतबाट बन्चित भएको गुनासो गरे ।
‘आफ्नाे क्षेत्रभित्रको प्राकृतिक श्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ’, उनले भने, ‘सवै श्रोतसाधन एक्यापले नै प्रयोग गर्दा यस क्षेत्रका अन्तर्गतका १६ वटा स्थानीय तह श्रोतविहिन भएका हुन् ।’ संघीय सरकारसंग बारम्बार अनुरोध गर्दै आएपनि १० बर्षभित्रै समुदायलाई हस्तान्तरण गर्नुपर्ने सहमतिसहित सन् १९८६ मा स्थापना भएको एक्याप अहिलेसम्म पनि आयोजनाकै रुपमा कायम रहनु र बर्षेनी म्याद थप गर्ने प्रचलनले प्रचुर सम्भावना भएर पनि यो क्षेत्रको प्राकृतिक श्रोत स्थानीयवासिन्दाले उपयोग गर्न नपाएको उनले बताए । प्रभावित क्षेत्रका स्थानीय पालिकाले स्थापनाकालदेखि नै प्राकृतिक श्रोतसाधन उपयोग गर्न माग गर्दे आएपनि अहिलेसम्म सुनुवाई नभएकोमा दुःख व्यक्त गर्दै उनले सरोकारवाला सवैको सहमतिमा एक्याप खारेज गर्नुको विकल्प नभएको जनाए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सामुदायिक वन समुहमा परिणत गरि वनको संरक्षण, सम्वद्र्धन र उपयोगको अधिकार दिनुपर्ने बताए । वन सम्वन्धि सम्पूर्ण अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न संघ र प्रदेश सरकारसंग महासंघले जोडदार माग गर्दै आएको बताउँदै उनले वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारले यही फागुन महिनाको अन्तिमसम्म स्थायी लेखा नम्वर (प्यान) लिन दिएको छुटको भरपुर उपयोग गर्न आग्रह गरे । स्थानीय तहले वन ऐन बनाउनु पर्नेमा उनको जोड थियो । महासंघ पालिका अध्यक्ष धर्मराज डुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का कार्यवाहक वडाअध्यक्ष गुरुदत्त अधिकारी, महासंघ कास्कीका उपाध्यक्ष चुडामणी अधिकारी, समाजसेवी रामचन्द्र अधिकारी, स्थानीय महासंघका कोषाध्यक्ष पार्वती अधिकारीले वन क्षेत्रको महत्वमाथि प्रकाश पार्दै वन डढेलो नियन्त्रणमा हातेमालो गरेर अघि बढ्ने सामुहिक प्रतिवद्धता जाहेर गरेका थिए ।





