पोखरा/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा स्थानीय तहले सम्पादन गरिरहेको वातावरणीय अध्ययन सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । विहीबार र शुक्रबार गरी दुई दिनसम्म संचालित कार्यक्रममा बागलुङका सबै १० वटै स्थानीय तह, पर्वतको कुश्मा नगरपालिका र म्याग्दीको वेनी नगरपालिकाका वन वातवरण तथा विपद् व्यवस्थापन समितिको संयोजक, योजना–प्राविधिक शाखा प्रमुख र वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको सम्पर्क व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कर्यक्रमको उद्घाटन गर्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास गरिरहेको सन्दर्भमा १२ वटा स्थानीय तहको निकै संवेदनशिल विषयको रुपमा रहेको वातावरण अध्ययन सम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी गराए । कार्यक्रममा पालिकाहरुले तर्जुमा गरी कार्यान्वयन गरिरहेका तथा थप तर्जुमा गर्नुपर्ने प्राकृतिक स्रोत एवं वातावरण स्रोत संरक्षण सम्बन्धी ऐन तथा संक्षिप्त, प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धी कार्यविधि सहित सम्बन्धित विषय लगायतका समसामयीक विषयमा प्रस्तुतीकरण सहित अनुशिक्षण सम्पन्न भएको थियो । यसैगरी स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजना र वातावरण बीचको सम्बन्धलाई प्रभावकारी बनाई दिगो विकासको अवधारणालाई स्थानीय तहमा व्यवहारिक रुपमा उतार्नको लागि स्थानीय सरकारबाट अभ्यास भैरहेको वातावरणीय अध्ययन सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया पनि भएको थियो । स्थानीय सरकारले तर्जुमा गरि कार्यान्वयन गरेका वातावरणीय अध्ययन सम्बन्धी ऐन तथा कार्यविधि कानून बमोजिम गठन गर्नुपर्ने संस्थागत संरचनाको विषयमा समेत समीक्षा तथा छलफल भएको थियो । कार्यक्रममा स्थानीय तहहरुले वातावरणीय अध्ययन सम्बन्धी विषयमा गरिरहेको प्रयास सम्बन्धी विषयमा समीक्षा समेत गरियो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृतद्वय जयराम उप्रेती र सन्तोषकुमार खत्रीले प्रशिक्षण सहजीकरण गरेका थिए ।
कार्यक्रमले स्थानीय तहमा वातवरणीय अध्ययन सम्बन्धी विषयको महत्वको विषयमा सहभागीहरुलाई प्रशिक्षण गरेको थियो । कार्यक्रमका सहभागीहरुले आफ्नो पालिकामा भइरहेको वातावरणीय अध्ययन सम्बन्धी विषयबारे जानकारी गराएका थिए । सहभागीले कार्यक्रमले वातावरणीय अध्ययन सम्बन्धी विषयको महत्व, कानूनी व्यवस्था सम्बन्धी थप जानकारीले स्थानीय सरकारलाई प्रभावकारी सेवा प्रवाहमा योगदान दिने विश्वास व्यक्त गरेका थिए । प्रशिक्षकद्वय उप्रेती र खत्रीले विकास र वातारणीय, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय पक्षमा रहेको अन्तर्सम्बन्ध तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा वातावरणीय पक्षमा परेको तथा पर्नसक्ने प्रभावको वारेमा जानकारी प्रदान गरि दीगो विकासको अवधारणालाई कसरी व्यवहारमा उतार्न गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । पालिकाबाट सहभागी प्रतिनिधिले पालिकामा वातावरणीय अध्ययन सम्बन्धी तर्जुमा भएका कानून तथा कार्याविधिलाई पुन समीक्षा गरि सबै आयोजनामा वातावरणीय अध्ययन सम्बन्धी विषयलाई व्यवहारमा उतार्ने र वातावरण र विकास बीच सकारात्मक सम्बन्ध कायम गर्ने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरेका थिए । प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोईराला तथा बागलुङको तमानखोला गाउँपालिकाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले शुभकामना मन्तव्य मन्तव्य दिएका थिए ।





