बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुस्ताङ र मनाङमा आजदेखि एचपीभी खोप अभियान सुरु

मुस्ताङ र मनाङमा आजदेखि एचपीभी खोप अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८१, आइतबार

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा आजदेखि खोप लगाउन सुरु भएको छ । चिसोका कारण बन्द विद्यालय खुलेसंगै दुवै हिमाली जिल्लामा आजदेखि खोप अभियान थालिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय मनाङकी प्रमुख रबिना ठगुन्नाका अनुसार मनाङमा पर्सी फागुन २० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माविमा आयोजित कार्यक्रममा खोप अभियानको सुभारम्भ गरेका थिए । प्रमुख ठगुन्नाका अनुसार १०३ जना स्कुल जाने र ६ जना स्कुल नजाने गरी १०९ जना लक्षित छात्रा रहेकोमा केही संख्या बढ्न सक्ने देखिएको छ । ‘संख्या पहिचान गर्नेबेला चिसोका कारण अन्य जिल्लाबाट आएका कामदार बेंशीतर्फ झरेका थिए’, उनले भनिन, ‘अहिले फेरी मनाङ फर्किने क्रम सुरु भएकाले विद्यालय नजाने किशोरीको संख्या बढ्न सक्छ ।’ अभियानको पहिलो दिनमात्रै ३ किशोरी बढेको उनले बताइन् । २० गतेसम्म अभियान रहे पनि कोही छुटेको भभए फागुन २१ मा पनि खोप लगाउने उनको भनाई छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख विद्या तामाङका अनुसार जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट एचपीभी खोपको आजबाट सुरुवात भएको छ । गाउँपालिकाकी उपाध्यक्ष दिकी गुरुङ र वडा नम्बर ४ का अध्यक्ष कर्म घ्यचो गुरुङले अभियानको सुरुवात गरेका हुन् । यस पालिकामा फागुन १८ र १९ गते खोप अभियान सञ्चालन हुनेछ । अन्य पालिकाले भने फागुन २१ देखि २४ गतेका लागि अभियानको तालिका तय गरेका छन् । मुस्ताङमा खोप लगाउने लक्षित किशोरीको संख्या ५८७ जना रहेको थियो । तर घुम्ती विद्यालयका कारण पोखरा झरेका छात्रा र चिसो छल्न बेंशी झरेका केही किशोरीले पोखरामै खोप लगाएका छन् । यसले ४५८ जना विद्यालय जाने र २२ जना विद्यालय नजाने किशोरी गरी ४८० जनालाई खोप लगाउने तयारीमा कार्यालय रहेको छ ।

प्रदेशका अन्य ९ जिल्लामा भने माघ २२ गतेदेखि फागुन ६ गतेसम्म अभियान संचालन भएको थियो । ती जिल्लाका ९७ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका छन । ती जिल्लामा १ लाख ४ हजार ८ सय १० जना लक्षित छात्रा तथा किशोरीमध्ये १ लाख २ हजार ४८ जनाले खोप लगाएका थिए ।

गण्डकी प्रदेशका १ लाख ५ हजार ४ सय ७९ जनलाई खोप दिने लक्ष्य हो । यो संख्या ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसमुहका किशोरीहरुको हो । खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पर्वत र स्याङजा जिल्लामा लक्षित संख्या भन्दा बढी अर्थात् १०१ प्रतिशतले खोप लगाए । तनहुँमा ९८ प्रतिशत, गोरखा, लमजुङ र म्याग्दीमा ९९ प्रतिशत, बागलुङमा ९७ प्रतिशत, नवलपुरमा ९६ प्रतिशत र कास्कीमा ९५ प्रतिशतले खोप लगाए ।

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपीभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरिने लक्ष्यमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->