पोखरा/जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई सहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् ।
यसपटककोे ‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो ।
सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटनमन्त्री सकिल अलि मियाँले पोखरा–जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अवगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे ।
आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे ।
मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए ।
होटल संघका केन्द्रीय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दुःखद पक्ष भएको बताए ।
जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे ।
बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए ।
नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे ।





