पोखरा/कास्कीको अन्नपूर्ण आधार सिविरमा जाने हेलिकप्टरले अब पालिकाको अनुमति लिनुपर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको मातहातमा पर्ने आधार शिविर जानका लागि पालिकाको अनुमति अनिवार्य गरिएको हो । बुधबार सिम्रिक एयर र पालिकाबिचमा सम्झौता भएपछि पालिकाको कार्यविधि लागु भएको हो । अव एविसी हेलिकप्टर ल्याण्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको हो । २०७९ सालमा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको छ । योसँगै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउनेछन् । तर उद्धारका लागि गरिएको उडानमा भने पैसा लाग्दैन । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले कार्यविधि पहिला नै बनेपनि हेलि कम्पनिहरुले केहि सुझावहरु दिएका कारण लागु गर्नमा ढिला भएको बताए ।
‘पालिकाबाट कार्यविधि अघिल्लो वर्ष नै लागु गर्न लागेका थियौं । अहिले हामीले हेलि कम्पनीहरुको सुझावलाई समेत सम्बोधन गरेका छौं । पहिलो चरणमा सिम्रिकले सम्झौता गरेको छ अन्य कम्पनीहरु आएका छैनन्’ उनले भने, ‘अब पालिका संग अनुमति लिने मात्रै त्यहाँ जान पाउनेछ ।’
त्यो बाहेक आधार सिविर जाँदा एक्यापको समेत अनुमति लिनुपर्नेछ । प्रवक्ताका अनुसार पालिकाले आफ्नो क्षेत्रभित्र परेका कारण लिएको र एक्यापले पनि संरक्षण क्षेत्रभित्र रहेकाले शुल्क लिने गरेको छ । उता अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डाक्टर रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन नियमावली अनुसार प्रति उडान तीन हजार रुपैयाँ शुल्क लिदैँ आइरहेको छ । अब हरेक हेलि उडानले सो क्षेत्रमा जाँदा एक्यापसहित पालिकासंग समेत अनुमति लिनुपर्नेछ । एक्याप प्रमुख कडरियाका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा नौ सय हेलिकप्टर उडान भएका थिए ।
चाल आर्थिक वर्षको बुधबारसम्म अन्नपूर्ण आधारशिविर २९० व्यवसायिक उडान भएका छन् । ‘यो साउनदेखी यता वेश क्याम्पसम्म २७० उडान भए । एक्याप भित्र समग्रमा साउनयता २९० उडान भएका छन् । गत वर्ष एक्याप क्षेत्रभित्र नौ सय उडान भएका थिए’ उनले भने, ‘हामीले नियमावली अनुसार तीन हजार रुपैयाँ व्यवस्थापन शुल्क लिदैँ आएका छौं अहिले पालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने भएकाले शुल्क लिन लागेको छ ।’
हेलिकप्टर उडानले त्यहाँ पदमार्गबाट जाने पर्यटक र वन्यजन्तुलाई समेत निकै असर गरेको कारण पालिकाले कार्यविधि बनाएर शुल्क लिन लागेको उनको भनाइ छ । एक्यापमा प्रवेश गर्दा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति एक हजार र त्यस बाहेक मुलुकका पर्यटकले प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ । पालिकाले पनि थप शुल्क लिने भएपछि हेलिकप्टर कम्पनीहरूले असन्तुष्ट जनाउँदै आएका थिए ।
त्यसमध्ये सिम्रिक पनि एक हो तर, बुधबार पालिका र सिम्रिक एयरबिच सम्झौता भएको छ । तोकिएको कम्पनी बाहेक अन्यले उडान भर्न चाहेमा प्रति उडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था राखिएको छ । हेलिकप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।
योसँगै अन्नपूर्ण क्षेत्रमा प्रति दिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक एक जना कर्मचारी पालिकाले खटाउने छ । अन्य कम्पनीलाई पनि सूचीकरणका लागि आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । ‘आह्वान गरेका छौँ । अरू कम्पनी आएका छैनन्,’ उनले भने, ‘२ पटकसम्म सूचना निकालेर १४ वटै कम्पनीलाई पत्राचार गरियो । एउटा कम्पनी दर्ता हुन आएको छ । अरू दर्ता नभएकाहरूले पटके रूपमा २० हजार शुल्क तिरेर उड्छन् ।’
एक्यापमा भएको रेकर्डकै आधारमा कम्पनीसँग शुल्क असुल गरिने उनले बताए । ‘हामीले एक्यापसँग समन्वय गरेका छौँ । त्यहाँ उडान अनुमति लिँदा जति रेकर्ड छ, त्यसैको आधारमा उडान यकिन हुन्छ,’ अघि भने, ‘संख्या त्यसैलाई गनेर पालिकामा पैसा तिर्ने हो । कसैले बदमासी गर्ने भन्ने हुँदैन । निगरानी गर्न कर्मचारी राखिएको छ ।’ हेलिकप्टर उडान शुल्कबाट पालिकाले वर्षमा डेढ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।





