
पोखरा/ उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माविको कार्यालय, पुस्तकालय र विज्ञान प्रयोगशाला रहेको भवनको छाना हावाले उडाइदिएको छ । यसबाट झन्डै २० लाख रुपैयाँ जतिको क्षति भएको विद्यालयले जनाएको छ ।
बुधवार दिउँसो ३ बजेको समयमा आएको तिब्र गतिको हावाले छाना उडाएको विद्यालयका प्रधानाध्यापक कमलेसकुमार त्रिपाठीले बताए । ‘छानामात्र उडाएको छैन, छाना उडाउने क्रममा भित्ताको ढुंगा खसेर कम्प्युटर, प्रोजेक्टर, विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामाग्री पनि नष्ट भएका छन्’, त्रिपाठीले भने, ‘पहिला छानामात्र क्षति भएको भन्ने लागेको थियो । ढोका खोलेर हेर्दा भित्रका अधिकांश सामानमा पनि क्षति पुगेको रहेछ ।’
दिव्यदीप उपल्लो मुस्ताङको एकमात्र माध्यामिक बिद्यालय हो । यतिबेला उक्त विद्यालय खाली थियो । चिसोका कारण पोखराको बिजयपुरमा घुम्ती विद्यालयका रुपमा संचालित छ । केही समयमै पोखराबाट छोसेर जाने तयारीमा विद्यालय रहेको छ ।

यसैबीच गण्डकी प्रदेश सभाको आजको बैठकमा मुस्ताङबाट निर्वाचित कांग्रेस सांसद बिकल शेरचनले तत्काल छाना जोडिदिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन । उक्त क्षेत्रका सांसद नम्डु गुरुङ विशेष कारणवश प्रदेश सभा बैठकमा उपस्थित हुन नसकेपछि शेरचनले यस सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।





