बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चार वर्षमा पर्वतका झन्डै साढे छ सय कुकुरको बन्ध्याकरण

चार वर्षमा पर्वतका झन्डै साढे छ सय कुकुरको बन्ध्याकरण


  • संजय रेग्मी
  • फाल्गुन २५ २०८१, आइतबार

पर्वत/पछिल्ला चार वर्षको अवधिमा पर्वतका करिब साढे छ सय कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारले कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पछिल्ला चार वर्षदेखि निरन्तर रूपमा बन्ध्याकरण शिविरको आयोजना हुँदै आइरहेको छ । यस वर्ष फागुन २२, २३ र २४ गते तीन आयोजना गरिएका दुई वटा शिविरमा भाले ९६ वटा र पोथी ९३ वटा गरी एक सय ८९ कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको हो ।
पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार फागुन २२ मा जलजला गाउँपालिकामा राखिएको शिविरमा ६६ वटा तथा फागुन २३ र २४ गते कुश्मामा राखिएको शिविरमा एक सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको हो । केन्द्रको कुश्मामा रहेको कार्यालयमा कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका र फलेवास नगरपालिकाका कुकुरहरूलाई कुश्मामा ल्याएर बन्ध्याकरण गरिएको हो ।
यसअघि २०७८ सालमा एक सय ६४ वटा, २०७९ सालमा ८८ वटा र २०८० सालमा एक सय ९५ वटा कुकुहरुको बन्ध्याकरण गरिएको कार्यालयको तथ्याङ्क छ । विगतका वर्षहरूमा सामुदायिक र घर पालुवा सबै कुकुरहरूको बन्ध्याकरण निःशुल्क रूपमा गर्ने गरिएको भए पनि यस वर्षबाट भने घरपालुवा कुकुरहरूको शुल्क लिन थालिएको छ । यस वर्ष घरपालुवा भाले कुकुरका लागि प्रति कुकुरको दुई सय रुपैयाँ र पोथीको पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो । यो दर अनुसार यस वर्ष ४० वटा भालेबाट आठ हजार रुपैयाँ र ३४ वटा पोथीबाट १७ हजार गरी कुल २५ हजार रुपैयाँ राजश्व उठेको छ ।
कार्यालयका निमित्त प्रमुख डा. ऋषभ गुरागाईँका अनुसार नेपाल सरकारले सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज लागेर मानिसको मृत्यु हुने सङ्ख्यालाई शून्यमा झार्ने उद्देश्य लिएको छ । सामुदायिक कुकुरहरूको सङ्ख्या बढ्दै जाँदा सवारी दुर्घटनाहरू बढ्दै जाँदा पनि जनधनको क्षति भएकाले पनि सामुदायिक कुकुरहरूको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर आवश्यक रहेको उनले बताए ।
‘यहीँ कुश्माको अवस्था हेर्ने हो भने दैनिक जसो सामान्य दुर्घटनाहरू कुकुरकै कारण भइरहेको देख्न सकिन्छ । सामुदायिक कुकुरहरू बेवारिसे अवस्थामा सडकमा डुल्ने र विशेष गरी दुई पाङ्ग्रे सवारीहरूलाई खेद्ने झम्टिने गर्दा दुर्घटना भएका छन्’, डा. गुरागाईँ भन्छन्, ‘अर्कोतर्फ पैदलयात्रीहरुलाई समेत टोक्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेर सङ्ख्या घटाउने बाहेकका विकल्प नभएकोले यसरी नै शिविर चलाउनुपर्छ ।’ सामुदायिक कुकुरहरूले बाटोमा जथाभाबी दिसापिसाव गर्दा सडकहरू फोहोर हुने र मानिसमा विभिन्न सङ्क्रमणहरू फैलिने जोखिम रहेको पनि उनले बताए ।
पर्वतमा करिब दुई हजार दुई सय घरपालुवा र पाँच सय सामुदायिक कुकुरहरू रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->