पर्वत/हालको फलेवास नगरपालिका–३ शंकरपोखरी साबिकका गाविसहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको वडा हो । वडामा प्रहरीको आवश्यकता परेको बेलामा कार्कीनेटामा रहेको प्रहरी पोस्टबाट समस्याको समाधान गर्नुपर्ने बाध्यता थियो । कार्कीनेटाको प्रहरी आउनको लागि समय लाग्दा सास्ती भोगेका शंकरपोखरीवासीहरुले निर्वाचनको बेलामा भोट माग्न जाने नेताहरूसँग समेत प्रहरी शंकरपोखरीमा नै राखिदिनुपर्ने माग गर्दै आएका थिए ।
उनीहरूको वर्षौँदेखिको यो माग भने बल्ल पूरा भएको छ । सोमबार शंकरपोखरीमा वडा कार्यालयको पुरानो प्रयोगविहीन भवनमा प्रहरी चौकीको औपचारिक रूपमा सुरु गरिएको छ । लामो समयको माग र प्रयासपछि शंकरपोखरीमा प्रहरी बसेपछि सोही वडाका बासिन्दा समेत रहेका गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीको उपस्थितिमा प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
चौकीको उद्घाटन गर्दै मन्त्रालयका प्रवक्ता तिवारीले प्रहरी सेवाको विस्तार र शंकरपोखरीको आवश्यकताको आधारमा पनि चौकीको आवश्यकता रहेको बताए । तत्काल अस्थायी प्रहरी चौकीको रूपमा स्थापना भएको चौकीलाई आगामी दिनमा स्थायी चौकीको रूपमा स्तरोन्नतिको लागि सबैको पहल आवश्यक रहेको उनको भनाइ छ । प्रहरी बर्दी सहितको नागरिक र नागरिक बर्दी बिनाको प्रहरी भएकोले यी दुई बिचको साझेदारीमा सुरक्षित समाज निर्माण हुने तिवारीले बताए ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उप–प्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी नायव उपरीक्षक रविन विष्ट लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोलेका उनीहरूले तत्कालका लागि अस्थायी प्रहरी चौकी भए पनि आवश्यक रहेको शंकरपोखरीमा प्रहरी सेवा स्थानीय रूपमै उपलब्ध हुँदा स्थानीय सुरक्षा स्थिति बलियो हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले ठुलो वडाको रूपमा रहेको शंकरपोखरीका नागरिकलाई प्रहरी सेवा प्रवाह गर्नका लागि अव सहज हुने बताए । तत्कालका लागि दरबन्दी नै नतोकिएको भए पनि वरिष्ठ हवलदारको नेतृत्वमा चार जनाको टोलीले सेवा सुरु गरेको उनले जानकारी दिए ।
प्रहरी चौकीको लागि पहल गर्दै आएका शंकरपोखरीकै बासिन्दा समेत रहेका नगरप्रमुख गंगाधर तिवारीले शंकरपोखरीबासीले लामो समयदेखि माग गर्दै आएको कुरा बल्ल पूरा भएको बताए । प्रहरीसँगको भौगोलिक दूरी टाढा हुँदा सेवा लिन समस्या भोगेकाहरूलाई सहज हुने तथा आपराधिक वा अनुचित कार्य गर्नेहरूलाई नियन्त्रणमा लिएर असल समाज निर्माणका लागि पनि थप बल पुगेको उनको भनाइ छ ।





