पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा व्यावसायिक चार्टर्ड भएको छ । सो उपक्रममा सिचुवान एयरलाइन्सले चैत ५ गते पहिलो चार्टर्ड उडान गर्नेछ । पोखरा पर्यटन परिषद्को पहलमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडानको चाँजोपाँजो मिलेको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले उडानहरूमा सहकार्य गरेको र नेपालस्थित चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह परिषद्का अध्यक्ष पहारीको भनाइ छ । चैत ५ गते छेन्दुबाट बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर पोखरा आउने विमानबाट दिउँसो १२ बजे १२७ जना पोखरेली पर्यटन व्यवसायी चीन जानेछन् ।
सुरुमा चार्टर्ड उडानमार्फत् पोखरा प्रवद्र्धन गर्ने र त्यहाँबाट तीन महिनाभित्र १२ सयभन्दा बढी पर्यटक पोखरा भित्र्याउने लक्ष्या रहेको पनि उनले बताए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभइनियमित उडान हुनुपर्ने बताए।ठूलो जनसंख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले पोखराबाट हुन लागेको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी हुँदैछन् ।





