बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको जोमसोममा शल्यक्रियामार्फत प्रसुति सेवा शुरु

मुस्ताङको जोमसोममा शल्यक्रियामार्फत प्रसुति सेवा शुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०८१, बिहिबार

पोखरा/मुस्ताङको जोमसोममा रहेको प्रदेश अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ ।
१९ महिनापछि बुधबार शल्यक्रियामार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो पाँच सय ग्राम तौल भएको बच्चा जन्माईएको हो ।
२४ घण्टादेखि प्रसुति बेथाले छटपटिएकी गर्भवतीको पेटमा रहेको बच्चाको मुटुको धड्कन गडबड देखिएकाले शल्यक्रिया गरिएको हो । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कन्सल्टेण्ट मेडिकल जेनरलिष्ट डा. बिशाल सापकोटाले जानकारी दिएका छन् ।
सापकोटाको नेतृत्वमा डा. तेजस नेपाल (प्रदेश अस्पताल जोमसोमका मेडिकल सुपरीटेन्डेन्ट), डा. बिर्सजन नेपाली, डा. मनिष कोइराला, डा. अशोक चापागाई, स्वास्थ्यकर्मीहरु बिशाखा पण्डित, सुधा पौडेल, दिब्या जिसी, निशा परियार, कुशल नेपाली, सनिलाल परियारको टोलीले शल्यक्रिया गरेको हो । टिममा प्रादेशिक अस्पताल कुश्माका मेडिकल सुपरीटेन्डेन डा. हेमन्त बास्तोलाको समेत सहभागीता रहेको थियो ।
गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अन्तर्गत करार नियुक्त गरी यस अस्पतालमा खटार्ईएका विशेषज्ञ चिकित्सक डा. बिशाल सापकोटाद्वारा शल्यक्रिया सेवा सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीहरुलाई सुविधा पुगेको छ । अस्पतालले हाइड्रोसिल, हर्निया र एपेन्डीसको पनि शल्यक्रिया सेवा सञ्चालन गरेको डा. सापकोटाले बताए ।
प्रसुती सेवा सञ्चालनका लागि तालिमप्राप्त स्टाफ नर्सको अभाव भएको र निर्माणाधिन भवन पुरा नहुँदा सेवा प्रवाहमा चुनौती देखिएको छ । अस्पतालबाट भिडियो एक्सरे सेवा पनि सूचारु भएको र चार वटा सोल्जर डिस लोकेशन (पाखुरामा फुस्केको गेडी ठिक ठाउँमा ल्याएर राख्ने) सेवा पनि शुरु गरिएको डा. सापकोटाले जानकारी दिएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ताका लागि मुस्ताङका पाँच वटा स्थानीय तहहरुले मासिक दरले उपलब्ध गराउने भनिएको सेवा–सुबिधा निर्णय कार्यान्वयन नभएको चिकित्सकले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->