पोखरा/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ । तालिम पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन भएको शिक्षालयका प्रमुख इन्जिनियर विकल अधिकारीले बताए ।
तालिममा २० जना कृषकको सहभागिता रहेको थियो भने समापनको अवसरमा उनीहरुको लागि २० ओटा मौरीका घार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । समापन कार्यक्रममा अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको बताए ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा ७ का वडाध्यक्ष भरतमान गुरुङले यस क्षेत्रलाई मौरीपालन पकट क्षेत्र बनाउनुपर्नेमा जोड दिए । उनले तालिम पश्चात त्यसलाई ब्यवसायको रुपमा रुपान्तरण गर्न आग्रह गरे । प्रशिक्षक जगन्नाथ पौडेलले मौरी पालनको लागि आवश्यक पर्ने पक्षहरुको जानकारी दिँदै मौरीमा लाग्ने रोग, निराकरणका उपायहरु, मौरीका स्वाभाव र प्रकार, मौरीको घार लगाएतका बिषयमा तालिम प्रदान गरिएको बताए । कार्यक्रममा वडा ४ का वडा सदश्य पशुपति केसी, प्रशिक्षार्थी लगाएतले मौरी पालन तालिमको महत्वको बारेमा भनाइ राखेका थिए ।





