बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको जयन्दु बालसुधार गृहमा झडप भएसँगै अपराधमा बालबालिकाको बढ्दो संलग्नताबारे चासो बढेको छ । झडपमा त्यहाँ रहेका ६ जना बालकहरु घाइते भएका छन् भने सुधार गृहमा आगोसमेत लगाइएको छ । विभिन्न अपराधपछि सुधार गृहमा राखिएका बालकहरु सुध्रिनुको सट्टा झन उच्छृङ्खल एवं आपराधिक क्रियाकलापमा संलग्न हुनुले के सुधार गृहहरु सुधार गृहजस्ता नभएका पो हुन् कि भन्ने कोणबाट पनि चर्चा चलेको छ ।
पछिल्लो समय कलिला बालबालिकाहरुको बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्नता बढेको छ । कुनै आपराधिक पृष्ठभूमि नभएका कलिला बालकहरु किन जघन्य अपराधमा संलग्न हुन थालेका छन् भन्ने प्रश्नप्रति राज्यले ध्यान दिन सकेको छैन । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई नावालग मान्छ । उनीहरु अपराधमा संलग्न भएको पाइएमा सुधार गृहमा पठाइन्छ । बालसुधार गृहमा राखिँदा पनि उनीहरु नसुध्रेको र झन आपराधिक मनोवृृत्ति बढ्दै जानुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । पछिल्लो समय इन्टरनेट र स्मार्ट फोनमा बालबालिकाको पहुँच बढेको छ । जसले गर्दा उनीहरु इन्टरनेटमार्फत् नै आपराधिक मनोवृत्तिप्रति आकर्षित हुने गरेका छन् । नक्कली फेसबुक एकाउण्ट बनाएर कसैको चरित्र हत्याख गर्ने, सामाजिक सञ्जालमा मनलाग्दी लेख्ने प्रवृत्ति पनि त्यसै गरी बढेर गएको छ । यसो हुनमा आफ्ना बालबालिकामाथि अभिवभावकको कम निगरानी हुनु नै हो । आफ्ना नानीबाबुहरुले इन्टरेनटमा के हेरिरहेका छन्, उनीहरुको संगत कस्तो छ भन्ने कुरामा अभिभावकले ध्यान दिनैपर्छ । त्यसका साथै उनीहरुको संगत कस्तो छ भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ ।
नानीबाबुहरु कुलतमा फसे भने त्यसबाट निकाल्न कठीन हुन्छ । अतः कुलत र अपराध कर्ममा जोडिने सम्भावनालाई मध्यनजर गर्दै आफ्ना नानीबाबुहरुलाई विशेष निगरानीमा राख्नुपर्छ । किशोरावस्था भनेको अर्काको देखासिकी गर्ने,लहलहैमा लाग्ने र के खराब हो र के असल हो भन्ने नबुझ्ने बेला हो । त्यस्तो अवस्थामा उनीहरुलाई सही मार्गदर्शन दिनुपर्छ । गलत मार्गबाट टाटा राख्ने जिम्मेवारी अभिभावककै हो । अपितु, पछिल्लो समय बालबालिकामा बढ्दै गएको आपराधिक मनोवृत्तिको कारण खोज्नेतर्फ राज्यले पनि ध्यान दिनुपर्छ । बदलिँदो समय र त्यसले निम्त्याएको विषमताको अन्त्य गर्ने काम राज्यकै हो । आपराधिक मनोवृत्ति बढ्नु भनेको समाज अशान्त हुनु हो । समाजलाई शान्त र सुशभ्य बनाउनका लागि सरकारले योजनासहित मनोसामाजिक परामर्श दिने व्यवस्था गर्नुपर्छ । बालबालिकाहरु अपराधमै संलग्न भए भने पनि उनीहरुलाई सही मार्गमा ल्याउने प्रयत्न गरिनुपर्छ । त्यसका लागि अहिले भइरहेका बालसुधार गृहहरुलाई पनि साँच्चिकै सुधार गृहको रुपमा विकास गरिनुपर्छ । गम्भीर अपराधमा बालबालिकाको बढ्दो संलग्नतालाई नजरअन्दाज गर्ने हैन, गम्भीर बनौँ ।





