पोखरा/ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलबाट आजदेखि पोखराबाट चीनको छेङ्दुसम्म व्यवसायिक चार्टर उडान हुने भएको छ । बिमानस्थल निर्माण भएर उद्घाटन भएको साढे २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको हो । सिचुवान एयरलाइन्सले १० हप्तासम्म उडान भर्ने गरी तयारी भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
अहिले १२७ चिनियाँ पर्यटक लिएर जहाज अवतरण गर्दैछ । सोही जहाज चढेर पोखराका पर्यटन व्यवसायीहरू छेङ्दु जानेछन् । दुई देशबिच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले पर्यटकको संख्या बढाउन पोखरा छेङदु उडानमा जोड दिइएको मेयर आचार्यको भनाई छ । छेङ्दु चीनको चौंथो ठुलो सहर हो । पर्यटनका हिसाबले अति नै महत्त्वपूर्ण रहेको छेङ्दुबासी घुम्न मन पराउनेमा अन्य चिनियाँ भन्दा अगाडि छन । यही भएर पोखराले छेङ्दुलाई प्राथमिकतामा राखेको हो ।
भ्रमणका क्रममा चीनका विभिन्न ५ सहरमा पोखरा र आसपासको पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि गर्न लागिएको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपी भट्टराईले बताए । ‘अहिले चार्टर भएपनि छिटै नियमित उडान सुरु हुने विश्वास छ । दैनिक चीनबाट नियमित फ्लाइट भए पोखराको पर्यटनले फड्को मार्नेछ’, उनले भने, ‘चीनसँगै अन्य छिमेकी देशहरुबाट पनि नियमित उडानका लागि पहल भइरहेको छ । सरकारले अलि चासो दिए सम्भव छ ।’
१० हप्तामा मात्रै चीनबाट १२५० पर्यटक पोखरा आउने परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिए । चार्टर फ्लाइटपछि कसरी नियमित गर्न सकिन्छ भनेर छलफल चलिरहेको उनको भनाई छ । नेपाल र चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष गाँठको अवसरमा व्यावसायिक चार्टर्ड उडान हुन लागेको हो । सापकोटाका अनुसार नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझोउ, इमी, लेसान, छोङसिङलगायत सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक भेटघाट र अन्तरक्रिया गर्नेछ ।
उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने नेपाल पर्यटन बोर्डको पोखरा प्रमुख मणिराज लामिछाने बताउँछन् । बोर्डले त्यहाँका टूर अपेरटरसँग छलफल चलाउँदैछ ।





