बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङद्वारा आयोजित दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी ५ दिने तालिमको समापन भएको छ । संघका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको थियो ।
तालिम समापनमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बजारको माग र रुची अनुसारका दुग्धजन्य पदार्थ उत्पादन गरी व्यवसायलाई थप उचाईमा पुर्याउनुपर्ने बताए । दुग्धजन्य पदार्थको अझै सुधार र परिमार्जन गर्दै उपभोक्तालाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सुवेदीको आग्रह थियो ।
सो अवसरमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, तालिमका प्रशिक्षक तथा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशु विकास अधिकृत डा. अपार पौडेल, पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र बागलुङ दुग्ध उत्पादक सहकारी संघका प्रबन्धक रामचन्द्र सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघका अध्यक्ष दिपक गौतमले आम उपभोक्ताको हितमा दुध र दुग्धजन्य पदार्थका कारण कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । गौतमले व्यवसायलाई विविधिकरण गर्दै नयाँ उत्पादन गरेर बजारीकरणमा जाने बताए ।
तालिमको सहजीकरण राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशु विकास अधिकृत डा. अपार पौडेल र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष राम बहादुर हमालको स्वागत र सचिव गोविन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।





