पर्वत/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा सदरमुकाम कुश्मामा कोपोमिस तालिम सम्पन्न भएको छ। उक्त तालिमको समन्वय जिल्ला सहकारी संघ पर्वतले गरेको थियो।
तालिम कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीले कोपोमिस प्रणालीमा आबद्धता भएमा सहकारीका तथ्य तथ्याङ्क व्यवस्थित भई नियामक निकायलाई अनुगमन सुरपरीवेक्षण गर्न सहज हुनुका साथै सम्बन्धित सहकारी संस्थाका सूचना तथ्याङ्क समेत अद्यावधिक हुने धारणा व्यक्त गरे । यसबाट सहकारीमा पारदर्शिता, जवाफदेहिता र जिम्मेबारी वृद्धि भई सहकारी सुशासन प्रवर्धन हुनेसमेत उनले बताए । सहकारी रजिष्ट्रारको कार्यालयका तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले सहजीकरण गरेको सो कार्यक्रममा पर्वत जिल्लाका विभिन्न सहकारीका व्यवस्थापक लगायतका ३६ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट गंगामाया विक र देवीप्रसाद अधिकारीले मन्तव्य राख्दै तालिम उपयोगी रहेको र यो तालिम प्राप्त गर्नाले सहकारी संस्था सञ्चालन र व्यवस्थापनमा प्रभावकारिता बढ्ने विचार व्यक्त गरे । तालिममा सहभागी तथा कार्यपत्र प्रस्तोताले वित्तीय विवरण भर्दा सरल र सहज हुनुपर्ने, सिष्टमभित्र विवरण टाइप गर्न नमिल्दा अन्यत्र टाइप गरेर मात्र विवरण प्रविष्टि गर्नुपर्ने भएकोले सो सच्याउनुपर्ने, केही सूचना तथा तथ्याङ्कको प्रमाण कागजात संलग्न गर्ने फिचर थप गर्नुपर्ने, कोपोमिस र राजश्व प्रणालीबीच लिङ्क गरी सहकारीका सबै विवरण अद्यावधिक भए नभएको एकीन गरेर मात्र कर दाखिला लगायतका कार्य हुने प्रणाली विकास गर्नुपर्ने लगायतका केही महत्वपूर्ण सुझाव तथा प्रतिक्रिया राखेका थिए ।





