बागलुङ/जिल्लामा चैतेदशैको छेकोमा धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत २० देखि २०८२ बैशाख २ गतेसम्म विभिन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रमका साथ धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला हुने भएको हो ।
मेलाको अवसरमा कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । कालिका कप खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता चैत २० देखि २५ गतेसम्म हुने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
पुरुष भलिबलको विजेतालाई नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद २५ हजारसहित मेडल र प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।
कालिका कप खुल्ला पालिका स्तरीय महिला भलिवल प्रतियोगिता चैत २६ देखि ३० गतेसम्म संचालन हुने मुल आयोजक समितिका भलिबल संयोजक अर्जुन खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, सेमिफाइनल पुग्ने समुहलाई नगद १० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता गण्डकी प्रदेशको प्रसिद्व शक्तिपिठ कालिका मन्दिरको बाल उद्यानमा संचालन हुने आयोजकले जनाएका छन् ।





