बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संरक्षणकर्मी आर के अदिप्त गिरी सम्मानित

संरक्षणकर्मी आर के अदिप्त गिरी सम्मानित

वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको घरमै पुगेर सम्मान गरेको हो


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८१, शुक्रबार

पर्वत/ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा संरक्षणकर्मी आरके अदिप्त गिरी आज सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको सदरमुकाम कुश्माबजारस्थित निवासमै आएर सम्मान गरेको हो ।

कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा जागरण फैलाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा लगायत पर्यावरण संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले सम्मानपत्र, अभियानका संयोजक रामबहादुर पौडेले माला र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

गिरीलाई सम्मान गर्दै मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुखद रहेको बताए । उनले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिड्न पाउने अधिकार रहेको जनाए । ‘सभ्यताको जननी नदीलाई भावी पुस्तालाई सही रुपमै बुझाउनु पर्छ,’ शर्माले भने, ‘संरक्षण राम्रो, समसामयिक र उदाहरणीय कार्य हो ।’ अहिले नदीमा मापदण्डविपरीत क्रसर उद्योग संचालन गरिएको, जथाभावीरुपमा गिटी, बालुवा थुपारेर केही कार्यकर्ता पाल्ने र पोस्ने मात्रै काम भएको उनले बताए । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै उनले बिकास र वातावरणलाई मिलाएर लैजानु पर्ने बताए ।

कुश्मा नगरपालिका कार्यपालिका सदस्य सविता विश्वकर्माले गिरीको अभियानमा साथ दिने बताईन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले अहिले मुुलुकमा गर्न नहुने र नपर्ने काम भएको तर गर्नुपर्ने काम नहुने गरेको बताए । अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्ने चलन अहिले भइरहेको उनको भनाई थियो । ‘समाजमा असल कर्म गर्न चाहने व्यक्ति देशभक्ति हुन्छ’, उनले भने, ‘अपार सम्पदाको खानी कालीगण्डकी नदी दिनदिनै दोहन भएको छ । कोही कसैले आवाज नउठाउँदा गिरीले संरक्षण अभियान थालेको कामबाट प्रभावित भएर आज हामी यहाँ आएका हौ ।’ सम्मानित व्यक्तित्व गिरीजस्ता संरक्षणकर्मी पाउनु कुश्मा र यस क्षेत्रको अहोभाग्य रहेको भन्दै उनले गिरीको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । कालीगण्डकी बचाऔं अभियानसंगै गिरीले कला, साहित्य र संस्कृति संरक्षणमा पनि लागिपरेको उनको भनाई थियो ।

सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालिन सभ्यतासंग जोडिएको कालीगण्डकी नदी दोहन हुँदा पनि कोही कसैले रोक्न र आवाज उठाउन नसकेको बताए । ‘एकाध व्यक्तिको लाभ, स्वार्थ र दादागिरीमा नदी कब्जा गरिएको छ’, उनले भने, ‘सांसद, जनप्रतिनिधि, नेता, पत्रकार, प्रशासनलगायत यसमा बोल्दैनन् ।’ नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदुषणको उच्च मारमा पर्दै गएको भन्दै उनले कालीगण्डकी नरहे कोही पनि नरहने जिकिर गरे । ‘जीवनको स्रोत नदी भएकाले यसलाई बचाउन सबैले संकल्प गरौं’ गिरीले भने, ‘टुलुटुलु हेरेर मात्र नबसौ ।’

नागरिक समाज कास्कीका सहसंयोजक दुर्गाकुमारी शर्माले संरक्षणका एउटा अथक योद्धालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताइन । उनले भविष्यमा पनि अभियानमा लागिरहन उर्जा थपियोस् भन्ने कामना गरिन् । मानवअधिकार रक्षक संजाल गण्डकी प्रदेशका महासचिव माधव पौडेलले कालीगण्डकी नदी दोहनमा परिरहँदा कोही पनि यसबिरुद्ध खुलेर बोल्न नसकेको बताए । ‘सेतोलाई सेतो भनेर सत्य बोल्दा मलामी घट्छन भन्ने गरिन्छ’, उनले भने, ‘गिरीको यो सम्मानले अव कुश्माबासी ब्युझिन्छन्कि भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->