पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङधैरेनी माध्यमिक विद्यालयमा आयोजना गरिएको गण्डकी महिमा धनधान्याचल ज्ञान महायज्ञमा साढे दुई करोड भन्दा बढी रकम आम्दानी भएको छ ।
विद्यालयमा ठूलो धन राशिको कोष निर्माण गर्ने र त्यसबाट आउने ब्याजबाट विद्यालयका शैक्षिक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि महायज्ञको आयोजना गरिएको थियो । स्थानीय शिक्षक तथा महायज्ञका अभियन्ता जयराम सुवेदीका अनुसार महायज्ञमा कुल दुई करोड ६१ लाख १८ हजार आठ सय १० रुपैयाँ आम्दानी भएको हो । अन्न र जग्गाबाहेक नगद मात्रै दुई करोड १९ लाख ४६ हजार दुई सय ५६ रुपैयाँ सङ्कलन भएको थियो । आम्दानीमध्ये एक करोड ७५ लाख ६४ हजार दुई सय ३१ रुपैयाँ बैंकमा राखिएको छ ।
महायज्ञको आम्दानी र खर्चबारे जानकारी दिन शनिवार विद्यालयमा आयोजित कार्यक्रममा कुल खर्च ४२ लाख ८९ हजार चार सय रुपैयाँ भएको सार्वजनिक गरिएको छ । जसमध्ये महायज्ञमा ३८ लाख ७१ हजार चार सय र विद्यालयमा चार लाख १८ हजार रुपैयाँ खर्च भएको छ ।
महायज्ञमा चन्दाताहरुबाट दिइएकोमध्ये ४१ लाख ६५ हजार २६ रुपैयाँ बराबरका चेक सटही गर्न बाँकी रहेको छ । मौज्दात नगद एक लाख एक सय ५३ रुपैयाँ रहेको शिक्षक सुवेदीले बताए । महायज्ञको अवधिमा प्राप्त भएका अन्नबाली सहितका जिन्सी सामग्रीहरू बिक्री गर्दा कुल नौ लाख १६ हजार दुई सय ७५ रुपैयाँ आम्दानी भएको छ ।
गत माघ सात गतेदेखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा दुई करोड रुपैयाँ भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको थियो । नौ दिनसम्म चलेको महायज्ञमा कथा वाचन आचार्य श्री चैतन्यकृष्ण महाराजले गरेका थिए । विद्यालयको दिगो सञ्चालन, स्तरोन्नति तथा संस्कृत शिक्षालयको रूपमा विकास गर्नका लागि महायज्ञबाट उठेको रकमले सहयोग पुग्ने महायज्ञ मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद रिजालले बताए । पार्वतीको पवित्र जन्मभूमिको रूपमा रहेको पाङ क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन एवम् धार्मिक विकासका लागि पनि महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
कक्षा १२ सम्म सञ्चालित पाङधैरेनी माविमा दुई सय २६ जना विद्यार्थीहरू अध्ययनरत छन् । कक्षा नर्सरीदेखि अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन भइरहेको विद्यालयमा चार जना शिक्षकहरू निजी स्रोतबाट नियुक्त गरिएका छन् । उनीहरूलाई मासिक तलब सुविधा भुक्तानी गर्न लगायत विद्यालयको चौतर्फी स्तरोन्नतिका लागि आर्थिक अभाव भएपछि महायज्ञ गर्नुको विकल्प नदेखिएको विद्यालयका प्रधानाध्यापक गुणराज पौडेलले बताए ।
महायज्ञलाई कथा प्रवचनमा मात्र सीमित नराखी पाङ शैक्षिक तथा आध्यात्मिक महोत्सवको रूपमा सञ्चालन गरिएको थियो । विद्यालयमा यस अघि २०५८ सालमा पनि महायज्ञ सञ्चालन गरिएको थियो । त्यो बेला सञ्चालन गरेको महायज्ञबाट आजसम्म विद्यालय सञ्चालन गर्न सफल भएको संयोजक रिजालले बताए ।





