पोखरा/नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र भएको छ । कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर ¥यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए ।
अमरसिंहचोकबाट सुरु भएको मोटर ¥याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुँदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण वर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकीय गन्तव्यहरुमा मोटर ¥यालीको गरेको उनले बताए । ¥यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर ¥याली अमरसिंहचोकमा आएर समापन भएको थियो ।
कार्यक्रमको पूर्वसन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ । चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुँदैछ ।
प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् ।





