पोखरा/ सिचुवान एयरलाइन्सको मंगलबारको छेन्दु–पोखरा चार्टर उडानको क्रममा यात्रुको सामान देखेर विमान कम्पनीका कर्मचारी दंग परे । चैत ५ गते पोखराबाट छेन्दु गएका नेपालीहरुको ‘लगेज’ व्यवस्थापनको लागि उनीहरुलाई हम्मे प¥यो । सामान राख्ने ठाउँ नै भरिएपछि एयरलाइन्सका कर्मचारीले ती सामानहरु क्याबिनमै राखे ।
‘उहाँहरुले यति धेरै सामान किन्नुभएछ कि, जहाज नै ओभरलोडजस्तो भयो,’ चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले भने, ‘जहाजमा आवत–जावत गर्दा निश्चित तौलसम्ममात्र सामानको शुल्क लाग्दैन । तौल बढी भए जहाजको आफ्नै नियम हुन्छ । तर, उहाँहरु (नेपाली भ्रमण दलका सदस्य) हरु खुसी हुनुभयो । ती सामान क्याबिनमा राखियो ।’ उनले घुमाउरो भाषामा नेपालीहरुले धेरै सामान किनेको र थप शुल्क तिरेर ती सामान नेपाल ल्याएको जानकारी गराए ।
पोखरा महानगर,पोखरा पर्यटन परिषदसहितका संघ÷संस्थाको पहलमा पोखरा– छेन्दुको चार्टर उडान भएको हो । चैत ५ गते भएको पहिलो उडानमा पोखराका मेयर धनराज आचार्यसहित १२६ जना पोखरेलीहरु सहभागी थिए । उनीहरुले सिचुवानको राजधानी छेन्दुमा एक हप्ता बिताए । त्यहाँ उनीहरुले के–के सामान किने र कति खर्च गरे भन्ने प्रष्ट छैन तर सीटीएसका प्रबन्धक यानका अनुसार उनीहरुले सक्दो किनमेल गरेका छन् । यानका अनुसार छेन्दुमा संसारमा पाइने सवैजसो कुरा पाइन्छ । आउँदो चैत १९ गते पोखरा–छेन्दु दोस्रो उडान हुँदैछ ।
पोखरामा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास
चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त पनि गरे । उनले अहिले तय भएका चार्टर उडानले चालु अंग्रेजी वर्षको वर्षायाममा चिनियाँ पर्यटक पोखरा ल्याउन सजिलो हुने पनि बताएका छन् ।
चीनमा अंग्रेजी महिनाको जुन–जुलाइमा विद्यालय बन्द रहन्छन् । अभिभावकहरु त्यो बेला नानीबाबु लिएर भ्रमणमा निस्कन्छन् । छोटो दूरीमा जान रुचाउने चिनियाँहरुको त्यो बेलाको रोजाइ हङकङ वा थाइल्याण्ड हुने गरेको उनले बताए । थाइल्याण्डकै दूरीमा रहेको पोखरा चिनियाँहरुले रुचाउने र सिचुवान प्रान्तले त्यही अनुरुप पोखराको प्रचार गरिरहेको पनि उनको भनाइ थियो ।सीटीएस सिचुवान प्रान्तको उडानसम्बन्धी काम गर्ने सरकारी निकाय हो । सिचुवानले पोखरामा १० वटा चार्टर उडान गर्ने प्रतिवद्धता जनाइसकेको छ भने पहिलो उडानमार्फत् चीन गएका नेपाली प्रतिनिधिमण्डल पनि पोखरा फर्कीसकेका छन् ।
सीटीएसका निर्देशक यान पोखरा उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा बोल्दै थिए । उनलाई स्वागत गर्दै आउँदो अप्रिल १ मा छेन्दुको लागि निजी क्षेत्रको तर्फबाट हुने चार्टर उडानकी संयोजक तथा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले द्विपक्षीय भ्रमणबाट पर्यटन तथा व्यवसाय प्रवद्र्धनमा सघाउने धारणा राखेपछि जवाफमा यानले अब हुने भ्रमण दलमा संहभागी हुनेहरुलाई अझ राम्रो आतिथ्यता प्रदान गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेल, लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट चार्टर उडान संयोजक वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यद्वय सूर्यराज घिमिरे र रामचन्द्र तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो अप्रिल एकमा हुने पोखरा–छेन्दु भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई सुम्पेका थिए । पोउवा संघले त्यो दायित्व महासचिव गौतमलाई सुम्पेको हो । पोउवा संघकी महासचिव शोभा गौतमका अनुसार दोस्रो चार्टर उडानको तयारी अन्तिम चरणमा पुगेको छ । चिनियाँ प्रतिनिधिमण्डलाई स्वागत गर्दै महासचिव गौतमले पोखरा उद्योग वाणिज्य संघको संक्षिप्त परिचय र गतिविधिबारे जानकारी पनि गराइन् ।
‘सिचुवान एयरलाइन्समार्फत् पोखराको एउटा प्रतिनिधिमण्डलले मित्रराष्ट्र चीनको छेन्दुको उडान गरिसकेको छ,’उनले भनिन्,‘ आउँदो भ्रमणले आपसी मित्रता बढाउन, दुई पक्षीय व्यापार तथा पर्यटन प्रवद्र्धनमा सघाउने मेरो विश्वास छ ।’ कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले पछिल्लो समय पर्वत साहसिक पर्यटनको केन्द्र भएको जानकारी दिँदै चिनियाँ पर्यटकलाई सो क्षेत्रमा भ्रमण गराउने योजना सुनाए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पोखरामा विमानस्थल निर्माणको लागि निजी क्षेत्रले दिएको दबाबमूलक आन्दोलनको स्मरण गर्दै यसको दिगो संचालनको लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए ।





