बागलुङ/प्राथमिककालिन कवि विरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ ।
पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा बसेको बैठकले डा. थापालाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । नेपाली भाषा, साहित्य र कलामा अग्रणी पन्तको स्मृतिमा २०७७ फागुन २७ गते बागलुङ नगरपालिकाले ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरेको थियो ।
कोषको व्याजबाट प्रत्येक वर्ष एक÷एक जना साहित्यकारलाई सम्मान गरिने कोषका सदस्य सचिव हरिप्रसाद पाण्डेले जानकारी दिए । पुरस्कार आगामी चैत्र २८ गते विशेष समारोहको आयोजना गरी थापालाई प्रदान गरिने पाण्डेले बताए । कोषबाट गतवर्ष पर्वतका साहित्यकार डा. जगन्नाथ रेग्मीलाई पुरस्कृत गरिएको थियो ।





