बागलुङ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरण बनेको बताएका छन् । उनले अध्यादेशले व्यवसायीको माग सम्बोधन भएको पनि बताए ।
पछिल्लो समय बैंकहरुले व्याज घटाएर पनि लगानीको वातावरण बन्न थालेको बताएका छन् । लगानी बढाउन सरकारले पनि चासो देखाएको उनको भनाइ छ । बागलुङ उद्योग बाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा, १९ औं अधिवेसन तथा हिरक जयन्ती सम्मान कार्यक्रमको उद्घाटन गर्दै कोरोना पछि पहिलो पटक लगानीको वातावरण बनेको बताए । विश्वव्यापी आर्थिक संकटको असर नेपालमा कम हुदै जान लागेको पनि उनले बताए । महासंघकै पहलमा प्रधानमन्त्रीसहित मन्त्री र सांसद भेटेरै लगानीका अबसर खोज्न आग्रह गरेको र सरकारले पनि सोही अनुसारको वातावरण बनाइरहेको बताए ।
पछिल्लो समय तरलता थुप्रिएकोले त्यसको सदुपयोगमा बैंकहरु अग्रसर भएको उनको भनाइ छ । ‘यतिबेला बैंकहरु लगानीको क्षेत्र खोज्दैछन्’ ढकालले भने, ‘महासंघकै माग अनुसार बैंकहरुले व्याजदर घटाएका छन् ।’ यतिबेला व्यवसायीले लगानीका ढोका खोल्नुपर्ने उनले बताए । तबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको कार्यकारिणी बैठकको निर्णयलाई बैंक र सरकारले चासो दिएकै कारण लगानीमैत्री वातावरण बनेको उनको भनाइ छ ।
गतवर्ष ढोरपाटनमा भएको महासंघको कार्यकारिणी बैठकमा ढकालले १०अर्बको मेगा परियोजना संचलन गर्ने समेत घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले काम अगाडि बढेको पनि बताए । उक्त घोषणा अनुसार उनले हाल बागलुङ बजारमा ३० करोड लगानीमा ईला कम्फट होटल पनि संचालनमा ल्याएका छन् ।
अब रेमिट्यान्सको मात्र भर नपरी धौलागिरि क्षेत्रमा पर्यटन र जलविद्युतमा लगानी गर्ने बेला आएको पनि उनले बताए । त्यसमा व्यवसायीलाई लगानी गर्न उनले आग्रह पनि गरे । ढकालले नयाँ सोच र परियोजना बनाएर पूजि अभावमा रोकिएका उद्यमीलाई महासंघले सघाउने पनि बताए । त्यसका लागि महासंघले बैंक तथा सरकारसँग लगानीको लागि पहल गरेको बताए । परियोजनाले युवालाई सीप विकास गरेर स्वदेशमै रोजगारका लागि बस्ने वातावरण बनाउन लागेको पनि बताए । त्यसका लागि आवस्यक तालिमका योजना बनिसकेको उनको भनाइ छ ।
उक्त अबसरमा बागलुङ उद्योग बाणिज्य संघले प्रदान गर्ने आर्थिक खोजमुलक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल सहित उत्कृष्ठ उद्योगी, व्यवसायी संघका पूर्व अध्यक्षहरु सम्मानित भए ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, महासचिव ऋषि गौतमको संचालनमा सम्पन्न कार्यक्रममा महासंघको गण्डकी प्रदेशका पदाधिकारी, छिमेकी शाखाका अध्यक्षहरु, पार्टी प्रतिनिधि, बागलुङ शाखाका पूर्वअध्यक्षहरु समेतले शुभकामना मन्तव्य राखेका थिए । शनिवार संघको अधिवेसनकालागि मतदान हुदैछ ।





