बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नयाँ दर्ताभन्दा उद्योग बन्द गर्नेहरु बढी

नयाँ दर्ताभन्दा उद्योग बन्द गर्नेहरु बढी

जिल्लामा दर्ता हुने ‘फर्म’ हरूको तुलनामा खारेज गरिएका ‘फर्म’ हरूको संख्या ३४ प्रतिशतले बढी रहेको पाइएको छ ।


  • संजय रेग्मी
  • चैत्र १६ २०८१, शनिबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

पर्वत/जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता गर्नेहरूको संख्याभन्दा त्यस्ता उद्योग तथा वाणिज्य ‘फर्म’ हरू बन्द गर्नेहरूको संख्या बढ्दै गएको छ ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार चालु आर्थिक वर्षको साउन एक गतेदेखि फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार जिल्लामा दर्ता हुने ‘फर्म’ हरूको तुलनामा खारेज गरिएका ‘फर्म’ हरूको संख्या ३४ प्रतिशतले बढी रहेको पाइएको छ । आठ महिनाको अवधिमा कुल ९९ वटा नयाँ उद्योग तथा व्यावसायिक ‘फर्म’हरू दर्ता गरिँदा एक सय ३३ वटा खारेज गरिएका छन् ।

कार्यालयका सूचना अधिकारी तथा अधिकृत भीमप्रसाद अर्यालका अनुसार उद्योगका रूपमा दर्ता भएर उत्पादनको काम गर्दै आइरहेकातर्फ ६४ वटा उद्योगहरू बन्द गरिएका छन् । सोही प्रकृतिका ४९ वटा ‘फर्म’हरू दर्ता भएका छन् । यस्तै व्यापारका लागि स्थापना भएका ६९ वटा ‘फर्म’हरू बन्द गरिँदा ५० वटा मात्रै नयाँ ‘फर्म’हरू दर्ता गरिएका छन् ।

आठ महिनाको अवधिमा उद्योगतर्फका पाँच सय ८१ वटा र वाणिज्यतर्फका छ सय ५३ वटा ‘फर्म’हरूले नवीकरण गरेका छन् । ‘फर्म’ हरूको दर्ता, खारेजी, नवीकरण लगायतमार्फत कार्यालयले आठ महिनामा २८ लाख ६६ हजार आठ सय ७१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यसरी ‘फर्म’हरू खारेज हुनुका मुख्य दुई कारणका रूपमा ‘अनुदान’ र ‘प्रयोजन’ रहेको देखिएको छ । राज्यबाट ‘फर्म’ हरूलाई दिइने अनुदान रकम पाउनकै लागि ‘फर्म’ दर्ता गर्ने र अनुदान पाएपछि बिस्तारै ‘फर्म’ छाड्दै जाने विगतदेखिकै रोग हो । राज्यका तर्फबाट अनुदान दिइएका ‘फर्म’ हरूलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्न र अझै राम्रो बनाउन नियमित अनुगमन नहुनु, पहुँचका भरमा अनुदान पाउनु, अनुदानमा दोहोरोपन हुनु लगायतका कारणहरू रहेका छन् ।

सरकारी कार्यालहरुले सार्वजनिक सुनुवाइ गर्दादेखि कार्यालय प्रमुखहरूको बैठकमा समेत अनुदानको दुरुपयोगको बारेमा कुरा उठ्ने गरेको भए पनि ती कुराहरू ‘कुरा’ मै सीमित बन्दा ‘फर्म’हरू झोलामा बोकेर हिँड्ने परम्पराको अन्त्य हुन सकेको छैन ।

अर्को कारणका रूपमा दोहोरो तेहरो कर प्रणाली रहेको केही व्यवसायीहरूले बताएका छन् । सामान्य रूपमा फर्म चलाएको व्यक्तिले पर्यटन तथा उद्योग कार्यालय, स्थानीय तह, उद्योग वाणिज्य संघ लगायत गरी नवीकरण गर्नुपर्दा ‘फर्म’सञ्चालहरुले एउटै व्यवसायलाई ३÷४ ठाउँमा कर बुझाउन बाध्य भएका छन् । राज्यका निकायहरूबिच तालमेल नमिल्दा तथा करलाई मात्र राजश्व सङ्कलनको बलियो माध्यम मान्दा व्यवसायीहरू मर्कामा परेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयका सूचना अधिकारी अर्यालले युवा तथा सक्रिय जनशक्ति वैदेशिक रोजगारीमा गएका कारण पनि ‘फर्म’हरू बन्द हुने गरेका बताउँछन् । यहीँ नै केही गर्छु भनेर ‘फर्म’ स्थापना गरेर काम सुरु गरे पनि बजार व्यवस्थापन, सामग्रीहरूको अभाव, लगानी र प्रतिफलबिचको असन्तुलन, बिचौलिया हाबी हुँदा उत्पादक र बिक्रेताबिच सिधा सम्पर्क नहुनु लगायतका कारण पनि ‘फर्म’ को टिकाउ दर कम हुँदै गएको हुन सक्ने उनको भनाई छ ।

कुनै पनि ‘फर्म’ बन्द गर्नका लागि सञ्चालक व्यक्ति स्वयं उपस्थित हुनुपर्ने नियम छ । यो नियम नभएको भए ‘फर्म’ खारेजी गर्नेहरूको संख्या अझै बढ्न सक्ने अर्यालले बताए । दर्ता भएर पनि नवीकरण र खारेजीका लागि नआएका ‘फर्म’हरूको संख्या कायम रहनुको कारण ‘फर्म’ स्थापना गरेको व्यक्ति वैदेशिक रोजगारीमा हुनु अर्को कारण हो ।

विदेशमा भएको व्यक्ति ‘फर्म’ दर्ताकै लागि नआउने भन्दै अधिकृत अर्यालले उनीहरूको उपस्थितिबिनै ‘फर्म’ खारेज गर्न पाउने वा उनीहरू नेपालमै रहेको अवस्था भएको भए अहिलेको तुलनामा अझै धेरै ‘फर्म’हरू खारेजीमा जान सक्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->