बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो ।
बागलुङ नगरपालिका ७ का सागर खत्री र मनिषा गैरेकी चार वर्षकी शुवेच्छा मिर्गी नामक रोग लागेपछि हाल भारतस्थित सर गंगाराम अस्पतालमा उपचाररत छिन् ।
उनको उपचारमा परिवारले ५० लाख खर्च गरिसकेपछि आर्थिक अभाव भएकोले सहयोग अभियान थालिएको थियो । ५० लाख संकलन गर्ने लक्ष्यले थालिएको अभियानको २० दिनमै ६८ लाख रुपैयाँ संकलन भएपछि तत्कालको खर्च टर्ने भन्दै परिवारका सदस्य र सहयोग समितिका सदस्यले कार्यक्रम स्थगत गरेका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर समितिका संयोजक नेत्रलाल न्यौपाने र बिरामीका पिता सागर खत्रीले तत्कालको खर्च जोहो भएको बताए । साथै खर्च नभएमा बाँकी रकम पनि सामाजिक काममा लगाउने उनीहरुले बताएका छन् ।
हाल बिरामीकी आमा अस्पतालमा छिन् भने बाबुले नेपालमा सहयोग अभियान चलाएका थिए । उनी न्यु ओएसिस आवासिय माविका शिक्षक समेत हुन् । यो अभियान चलेपछि लायन्स, रोटरी लगायतका क्लब, निजी तथा सामुदायिक विद्यालय, युवा क्लब, अस्पताल र क्याम्पस, छिमेकी र आफन्त समेतले साथ दिएका थिए ।





