बागलुङ/चैतेदशैंको अवसरमा बागलुङ कालिका मन्दिरमा विविध कार्यक्रम सहित मेला आयोजना गरिने भएको छ । चैतेदशै मेलासँगै यो वर्ष धार्मिक सम्मेलनको आयोजनासमेत गरिने भएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
चैत २० देखि २५ गतेसम्म चैतेदशंै मेला लाग्ने भएको हो । त्यो मध्ये पहिलो दुइ दिन अर्थात २० र २१ गते गुठी संस्थानको सहयोगमा धार्मिक पर्यटन तथा गुठी महोत्सव आयोजना हुनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
सयौं वर्षदेखि मेला लाग्दै आएकोमा पहिलोपटक धार्मिक सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा देशभरका विभिन्न मठमन्दिरका सन्तमहन्त तथा व्यवस्थपन समितिका पदाधिकारी समेत आउने छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनको उद्घाटन गर्नेछन् ।

सम्मेलनमा गुठी संस्थानकोतर्फबाट भीम नेपाल र राजेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् । कालिकामा गुठीले भने सिंगो मेलाको व्यवस्थापन गराउने अध्यक्ष कुमार खड्काले बताए ।‘देशभरबाट धेरै भक्तजन आउने भएकोले गुठीले व्यवस्थापनमा साथ दिने हो, मेला त स्वतः पनि लाग्ने गर्छ’ उनले भने, ‘मेलालाई आर्कषण बनाउन खेलकुदलगायतका गतिविधि संयोजन गरेका छौं ।’
चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतवारदेखि नै मन्दिरमा चहलपहल शुरु भएकोमा बुधवारदेखि भने विशेष मेलाकै आयोजना गरिएको खड्काले बताए । मुक्तिनाथ गएर श्राद्द गरेर फर्केका भक्तजन समेत कालीकाको दर्शन गरेर मात्र फर्कन्छन् । देशभरबाट मेलाको अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकोले मेलालाइ विशेष पर्वको रुपमा लिने गरिएको छ ।
चैतेदशैको प्रतिपदादेखि राम नवमीसम्म लाखौं भक्तजन तथा आन्तरिक पर्यटक आउने अनुमान छ । कालीका मन्दिरमा आएका भक्तजनलाई चैतेदशंैको अवसरमा खिरको प्रसाद खाने व्यवस्था पनि छ । चैतेदशंैकै अवसर पारेर गाउगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको पनि व्यवस्था गरेको छ । मेलामा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो समेत खेलाइने छ । महिला भलिबल बुधवारदेखि नै सुरु हुनेछ भने पुरुष भलिबल २२ गतेदेखि संचालन हुने भएको हो । महिला भलिबलतर्फ ६ टिम दर्ता भएका छन् भने पुरुषतर्फ १२ टिम खेल्नेछन् । पालिका स्तरीय खेलमा पुरुषतर्फ प्रथम हुनेले २ लाख र द्वितीय हुनेले १ लाख नगद पुरस्कार पाउनेछन् । महिलातर्फ प्रथमले ८० हजार र द्वितीयले ४० हजार नगद पुरस्कार पाउने भएका हुन् ।
यो वर्ष गुठी संस्थानले पनि चैतेदशैं मेलालाई चासो दिएको छ । केन्द्रीय अध्यक्ष शिवराम पण्डितसहितको टोली मेलाका लागि बागलुङ आएको छ । मेलामा ग्रामीण किसानले उत्पादन गरेका काठ,बाँस र बेतबाट बनाएका सामानहरुको विक्रि गरिने चलन छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकोले सयौं आउने गरेका छन् । मेला शुरु हुनु साताअघि नै यहाँ ग्रामीण क्षेत्रबाट साना व्यवसायीहरु आइसकेका छन् । चैतेदशैंलाई वर्षभरी आवश्यक पर्ने सामग्री खरिद गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघाजस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गरेका छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाको आर्कषण छन् ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिकाबारेमा तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ वटा विभिन्न शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीमा निर्मित मन्दिर जंगलको बीचमा रहेको छ । १०८ वटा तामाका दियो जडित मन्दिरलाई तामाकै छानाले छाइएको छ ।





