पर्वत/ नेपालमा असार महिनाबाट मुख्य मनसुन सुरु हुन्छ । मनसुन भित्रिएपछि हुने वर्षाले बाढी, पहिरो लगायतका विपदले जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएपछि मात्रै विपद् आउला की भनेर सोच्ने हामीहरू ‘प्रि मनसुन’ मा हुनसक्ने वर्षा र त्यसबाट हुने क्षतिको बारेमा सचेत नबनेका हुन सक्छौँ ।
चैतदेखि जेठ महिनासम्मको ‘प्रि मनसुन’ को बारेमा थाहा पाएर सम्भावित क्षतिलाई कम गर्न सकिन्छ । यो बेलामा वर्षा हुन थाल्छ, तर लगातार र व्यापक हुने मुख्य मनसुन भने सुरु भइसकेको हुँदैन । ‘प्रि मनसुन’ को बेलामा असिना, चट्याङ, हावाहुरीजस्ता घटना बढ्न सक्ने भएकोले ‘प्रि–मनसुन’ को समयमा सतर्कता र पूर्व तयारी गर्नुपर्छ ।
‘प्रि मनसुन’ कै बेलामा हुनसक्ने वर्षा र त्यसबाट आउन सक्ने पहिरो वा भूक्षयले जनधनको क्षति हुने गरेको छ । भूसंरक्षणको क्षेत्रमा काम गर्दै आइरहेकाहरूले पहिरोको सम्भावना रहेका स्थानमा जमिनले केही न केही लक्षणहरू देखाउने बताउँछन् । व्यक्तिले तीनै लक्षणहरूको ख्याल गर्दै सतर्कता अपनाउने र विपद् आउनु पूर्व नै तयारी थाल्ने हो धनजनको क्षति कम गर्न सक्ने बताउँछन् ।
जलाधार तथा भूसंरक्षण कार्यालय पर्वतका प्रमुख शम्भुकुमार मिश्रलाई पहिरोको पूर्व लक्षणबारे कुराकानी गर्दा उनले घरका भित्ता, झ्याल र ढोकादेखि जमिनमा धाँजा फाट्नेसम्मका लक्षणहरूको पहिचान गर्न सकिने बताए । पहिले धाँजा नफाटेको भीर पाखादेखि घर आसपासको जमिनमा सानादेखि ठुलासम्म चिरा पर्दै गएमा त्यहीँबाट पहिरो जानसक्ने उनको भनाइ छ । प्राकृतिक रूपमा रहेको भिरालो वा समथर जमिनमा बिस्तारै तलमाथि हुँदै जानु, सधैँ एक रङको पानी बगिरहने नदी वा खोलामा बिस्तारै रङ र सतहमा परिवर्तन हुनु, पानी धमिलो हुन थाल्नु जस्ता लक्षणले जमिनको भित्री सतहमा गडबड भइरहेको सङ्केत मिल्ने मिश्रले बताए ।
यस्तै जमिनमा रहेका रुख बिरुवा तथा सिधा रूपमा गाडिएका बिजुलीका खम्बा वा अन्य बस्तुहरू बिस्तारै ढल्किँदै जानु पनि पहिरोको स्पष्ट बुझ्न सकिने लक्षण हो । कहिलेकाहीँ भूमिगत पानीका कारण बिस्तारै भूक्षय हुँदै गएर कुनै दिन ठुलो पहिरो आउने अवस्था पनि आउन सक्ने भएकोले भूमिगत पानी बगिरहेको ठाउँमा माटोको बगेको मात्राको पनि ख्याल राख्नुपर्ने मिश्रको सुझाव छ ।
पहिरो जानसक्ने भएमा जमिनभित्र बिस्तारै रूपमा हुने हलचलका कारण घरका पर्खालहरू बिस्तारै चर्किँदै वा बाङ्गो हुँदै जानु, खोँच जस्तो बन्नु, घरका झ्याल ढोका सजिलै नलाग्नु, चौकोस बाङ्गो हुँदै जानु, घरका धुरी बाङ्गो वा पाल्टे पर्दै जानु पनि पहिरोको लक्षणहरू भएको उनले बताए । यस्तै वर्षा भइरहेको अवस्थामा मात्रै पहिरो आउँछ भन्ने मानसिकता बोकेर बस्दा वर्षा रोकिएपछिको अवस्थाले झनै क्षति हुन सक्ने उनको भनाइ छ ।
‘वर्षा रोकिएपछि जमिनभित्र सोसिएको पानीले बिस्तारै पहिरो चलाउन सक्छ । त्यो बेलामा जमिनमा बिस्तारै ढुङ्गाहरूको घर्षण भएको, रूखहरू ढल्न खोज्दा कट् कट् आवाज आउने लगायतका फरक आवाजहरू पनि सुन्न सकिन्छ’, कार्यालय प्रमुख मिश्रले भने, ‘अझ त्यसमा पनि जहाँ सही तरिकाले मोटर बाटोमा बग्ने भलको व्यवस्थापन नगरेको र सडक खन्दा मनपरी तरिकाले माटो फालिएको छ त्यो ठाउँमा जोखिम बढी हुन्छ ।’
‘प्रि मनसुन’ को बारेमा थाहा नपाएकै कारण धेरैले सुरक्षाका उपाय र पूर्व सावधानीहरू अपनाउन अलमलमा परिरहेको देख्न सकिन्छ । सामान्यतः असार साउनमै मात्र वर्षा हुन्छ र त्यो बेलामा विपद् आउन सक्छ भन्ने मानसिकताका कारण ‘प्रि मनसुन’ मा नै विपद्का घट्नाहरु हुने गरेका छन् । मनसुनको बेलामा आकाश हेरेर केही अनुमान गर्न सबैले सके पनि ‘प्रि मनसुन’ को बेलामा त्यो अनुमान नमिल्न सक्छ । ‘प्रि मनसुन’ को बेलामा वर्षा हुँदा जान सक्ने पहिरो र आउन सक्ने बाढीबाट बच्नका लागि पूर्व सावधानी अपनाउन सके क्षति कम गर्न सकिने छ ।





