बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवा पलायन र बसाइँसराइँ रोक्न ठोस योजना आवस्यक– मन्त्री पाठक

युवा पलायन र बसाइँसराइँ रोक्न ठोस योजना आवस्यक– मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८१, शुक्रबार

रामपुरटार (तनहुँ) / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ग्रामीण क्षेत्रबाट बढ्दो बसाइँसराइँ र युवा विदेशिने क्रम रोक्नलाई राज्यले ठोस योजना र नीति बनाउनु पर्ने बताएका छन् ।

भानु नगरपालिका–१० रामपुरटारमा आयोजित चैतेदशैं रामनवमी मेलाको विहीबार उद्घाटन गर्दै मन्त्री पाठकले गाउँमा मानिस टिकाउन राज्यले सोंच्नुपर्ने बेला आएको जनाएका हुन् ।

ग्रामीण क्षेत्रमा उद्योग, कलकारखाना, स्वरोजगार, रोजगारी सिर्जनालगायतका कामको थालनी हुनुपर्ने उनको भनाई थियो । यसका लागि सडक, विद्युत, खानेपानी, सुरक्षाको उचित प्रवन्ध, गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारमा विशेष ध्यान दिएमा बसाइँसराइँ रोक्न सकिने उनले बताए । ‘मानिस शहर पस्ने, बाँदर गाउँ बस्ने भएको छ । युवा शक्ति विदेश पलायन भएको छ, यो देशका लागि दुखद छ’, उनले भने, ‘यी दुवै रोक्न सरकारले योजना बनाउन आवस्यक भइसकेको छ ।’ गण्डकी प्रदेश सरकार आफ्नो सामथ्र्यले भ्याएसम्म यसतर्फ लाग्ने प्रतिवद्धता उनले जनाए । सूचना प्रविधिका कारण विश्व नै एउटा सानो कचौरा जस्तो भएको र विभिन्न पेशा, व्यवसायकका लागि युवा विदेशिने क्रम नेपालमा मात्र नभई विकासशील देशमा पनि रहेको उनले बताए ।

मन्त्री पाठकले देशमा पछिल्लो समय बिकास निर्माणलगायतका कामले गति लिए पनि पुराना दलले केही गरेनन्, गर्न सकेनन् भन्ने भाष्य जवर्जस्ती सिर्जना गर्न खोजिएको बताए । ‘जनताको अपेक्षा अनुसार कतिपय काम हुन नसकेको होला, त्यो स्विकार्न पर्छ’, उनले भने, ‘तर केही पनि काम भएको छैन भन्ने भ्रम र चेतलाई परिवर्तन गर्न आवस्यक छ ।’ पछिल्लो १० वर्षको अवधिलाई हेर्ने हो भने पनि बाटोघाटोलगायत पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रलगायतमा महत्वपूर्ण काम भएको उनको भनाई थियो । समाजमा नकरात्मक सोंचले घर गरिरहेको भन्दै मन्त्री पाठकले यो व्यवस्था ल्याउने दलहरु र आम नागरिकले यस्तो चेतलाई परिवर्तन गर्नुपर्ने बताए । कतिपय सवालमा राजनीतिक दलहरु सुध्रन भने आवस्यक रहेको उनले बताए । आर्थिक आचरण, व्यवहारमा परिवर्तन आवस्यक रहेको भन्दै उनले जनतलाई अनुभूत हुनेगरी विकासनिर्माणलगायतका कामहरु गर्नुपर्नेमा उनले जोड दिए ।

मेला उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले रामपुरटारमा परम्परागत रुपमा मेला लाग्ने स्मरण गर्दै केही वर्ष रोकिएको मेला फेरी ब्यँुतिएको बताए । समयसंगै मेला पर्वलाई पनि परिस्कृत गर्दै लैजानु पर्ने भन्दै उनले मेलाले मानिसलाई तनावमुक्त गर्ने बताए । मेला खेल, संस्कृतिलगायत क्षेत्रका प्रतिभाको पहिचान गर्ने माध्ययम पनि रहेको उनले बताए ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले २ ठूला दल मिलेर बनेको सरकारले बिकासमा पनि सोही अनुसार फड्को मार्न सक्नुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा अझै पनि बाटोघाटो, खानेपानीलगायत समस्या रहेको जनाए । पछिल्लो समय गाउँतिर फर्कने क्रम पनि सुरु भएको भन्दै उनले सोहीअनुसार राज्यले नीति बनाउनुपर्नेमा जोड दिए । वडाध्यक्ष हरिहर उप्रेती, एमाले नगर कमिटी अध्यक्ष शंकर रानाभाट, नेपाली कांग्रेस नगर समितिका उपसभापति राजन श्रेष्ठ मेला व्यवस्थापन समितिका सदस्य कृष्णबहादुर तामाङले शुभकामना मन्तव्य दिएका थिए । मेला व्यवस्थापन समितिका अध्यक्ष नविन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रुपा पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन भने गजेन्द्र लौडारीले कार्यक्रमको संचालन गरेका थिए । बरिष्ठ कलाकार अक्कल बिरही गुरुङ र शंकर परियारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

मेलासंगै पाँचौं खुल्ला भलिबल, चौथो ब्याडमिन्टन प्रतियोगिता र दोहोरी गीत प्रतियोगिताको पनि आयोजना गरिएको छ । खेल संयोजक विष्णु पाण्डेका अनुसार भलिबलमा १० टीम, ब्याडमिन्टनमा २३ टीम र दोहोरी गीत प्रतियोगितामा ५ टीमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->