आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हेमजामा आजदेखि आलु महोत्सव

हेमजामा आजदेखि आलु महोत्सव


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार

पोखरा/आजदेखि हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष समेत रहेका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ।

महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकीसहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु हुने र उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्ने कार्यक्रम छ ।

महोत्सव प्रवेशका लागि साधारणतर्फ ८० तथा विद्यार्थीका लागि ५० दरको टिकट व्यवस्था गरिएको आयोजक समितिका महासचिव हिम्मत थापाले जानकारी दिए ।

२०७८ सालको जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ । त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औसद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । महोत्सव यही वैशाख ३ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->