पोखरा/आलु गाउँका रुपमा प्रसिद्ध पोखरा महानगरपालिका–२५ हेमजामा आइतबारदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । महोत्सवको यो १३औँ संस्करण हो ।
स्थानीय विष्णुपादुका क्लबको आयोजनामा सुरु महोत्सवको पोखरा महानगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्दै खाने आलुमामात्र सिमित नभइ व्यवसायिक आलु खेतीतर्फ उन्मुख हुनुपर्ने बताए । अर्को वर्ष अझ व्यवस्थित तरिकाले आलु खेती गर्नुपर्ने भन्दै उनले यसका लागि महानगरले सहयोग गर्ने प्रतिपद्धता जनाए । उनले महानगरका प्रत्येक वडामा एउटा पकेट क्षेत्र विकास गर्ने योजना रहेको पनि जनाए । ‘आलु खेतीमार्फत पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिन्छ भन्ने कुराको उदाहरण क्लबको कामले देखाएको छ,’ मेयर आचार्यले भने, ‘पोखरामा तरबुजा खेती सफल भएको छ, आलुमा पनि सम्भावना छ।’
उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष मोती तिमिल्सिनाले आलु महोत्सवले पोखराकै पहिचान बोकेको बताए । महोत्सवले आलुलाई मात्र नभइ स्थानीय संस्कृती, बाजालाई पनि उजागर गर्ने प्रयास गरेको उनको भनाई थियो । यसअघि स्थानीयले आलुको माला लगाएर, अन्य तरकारी बोकेर बाजागाजा सहित सडकमा नाचगान गरेका थिए । चौरको बिच भागमा बनाइएको आलुको पहाड महोत्सवको मुख्य आकर्षण बनेको छ । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
आलु महोत्सव सुरु भएदेखि आलु बजारसम्म लाने झन्झटबाट मुक्त भएको र उत्पादित आलु महोत्सवबाटै बिक्री वितरण हुने गरेको विष्णुपादुका क्लबका उपाध्यक्ष राजेन्द्रबहादुर थापाले बताए । महोत्सव प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क राखिएको छ । बैशाख ३ गतेसम्म हुने महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु बिक्री हुनेछ ।





