शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आमा स्वास्थ्यमा चासो, युग सुहाउँदो शिक्षामा जोड

आमा स्वास्थ्यमा चासो, युग सुहाउँदो शिक्षामा जोड


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८१, बिहिबार

निसीखोलाको देविस्थानमा रहेको रत्न राज्यलक्ष्मी माविको पक्की भवन । तस्बिर : ढोरपाटन

५ वर्ष अघिसम्म निसीखोला गाउँपालिकाको अर्नाकोटमा वर्थिङ सेन्टर थिएन । स्थानीयले सामान्य समस्या पर्नासाथ गाडी रिर्जभ गरेर बुर्तिवाङ झर्नुपथ्र्यो । बच्चा जन्माउन सुत्केरी हुनुपर्दा त स्थानीयले सास्ती नै खेप्थे । जिप रिजर्भ गरेर बुर्तिवाङ पुग्दा दश हजार रुपैयाँभन्दा बढी लाग्थ्यो । अहिले भने घर छेवैमा खुलेको सुरक्षित सुत्केरी सेवाले खर्च र समय बचेको छ भने दुःख कम भएको छ ।

अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइमा तीन वर्षदेखि बर्थिङ सेन्टर संचालनमा छ । यो सेन्टरमा वर्षमा १२ जना सम्मले सुरक्षित सुत्केरी सेवा पाएका छन् । जटिल समस्या पर्ने भएमा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिन्छन् । जसका कारण समस्या पर्नेहरुले समयमा सुरक्षित स्थान पुग्ने अवसर पाएका छन् । बर्थिङ सेन्टर नहुँदा कतिपय महिला घरमै सुत्केरी हुन्थे । हेर्दा सामान्य सामुदायिक स्वास्थ्य इकाइ हो, तर यो निसीखोला र वडा कार्यालयको गौरवको आयोजना हो ।

भूगोल ठूलो भएकोले यो वडाको वडा कार्यालय पुग्न पनि तीन घण्टा लाग्छ । स्वास्थ्य चौकी भएको स्थान पुग्न त सोझो सडकले जोडिएकै छैन । त्यसैले ढोरपाटन नगरपालिकातर्पm जानुपर्ने बाध्यता छ । बर्थिङ सेन्टरका लागि दाताहरुले साथ दिएपछि यो सफलता मिलेको हो । अहिले त यो इकाइबाट निसीखोलाको वडा नं. २ र ढोरपाटनको वडा नं. ५ गरी झण्डै तीन सय परिवारले सेवा पाएका छन् ।

अहिले भने आमा समूहले गर्भवती भएदेखिनै तथ्यांक राख्ने, नियमित गर्भजाँच गर्न पठाउने गर्न थालेका छन् । इकाइले पनि आमा समूहको बैठक र गर्भवतीहरुको तथ्यांक राखेर समयमा उपचारको दायरामा लैजाने पहल गर्न थालेको छ । नेपाल सरकारले तोकेको प्राटोकल अनुसार हरेक गर्भवती महिलाले सुत्केरी नहुन्जेलसम्म ८ पटकसम्म गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा सरकारी नियम अनुसार २ हजार रुपैयाँ बाटो खर्च समेत दिन थालिएको छ । नियमति गर्भजाँच नभएमा इकाइबाटै घरभेट गरेर गर्भवतीको स्वास्थ्य अवस्थाबारे बुझ्न थालिएको छ । यो विधिले होम डेलीभरी भने शुन्य उन्मुख भएको छ भन्छन् वडा अध्यक्ष कुविर बिक ।

देविस्थानको अर्नाकोटमा रहेको सामुदायिक स्वास्थ्य इकाई । तस्बिर : ढोरपाटन

यो बर्थिङ सेन्टर स्थापनाका लागि कर्मा फ्लाइट फाउण्डेसनले भवन पनि बनाइदिएको छ । २० लाख रुपैयाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाखका उपकरण सहयोग गरेको थियो । दुइ जना कर्मचारी फाउण्डेसनले सहयोग गरेकोमा चालु वर्षदेखि चेतबहादुर कँुवरलाई पालिकाले करार गरेको छ । २०७६ देखिनै कर्मा फ्लाइट फाउण्डेसनकै सहयोगमा कर्मचारी राखेर सेवा प्रवाह भइरहेको छ । फाउण्डेसनले १० लाख खर्चेर प्रसुती प्रतिक्षाघर निर्माणको काम थालेको छ ।

२०७६÷७७ सालमा भवन बनेर सामान्य स्वास्थ्य सेवा दिन थालेकोमा आर्थिक वर्ष २०७८÷७९ मा यहाँ ९ जनाको सुरक्षित सुत्केरी गराइएको थियो । आव २०७९÷८० मा १० जना र गत आर्थिक वर्ष १२ जनाले सुत्केरी सेवा लिएका छन् । सुत्केरी गराउने बेड, बेवी वार्मर लगायतका मेसिन भने फेयरमेड फाउण्डेसनले सहयोग गरेको थियो । हाल गाउँपालिकाले औषधी उपचारका लागि सामाग्री, नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन र खोप क्लिनिक समेत संचालन गर्दै आएको छ ।

युनिका फाउण्डेसनले सोलार जडान गरेर विद्युत तथा पानी तान्ने काममा साथ दिएको छ । समुन्द्री सतहदेखि २ हजार ५ सय मीटर उचाइमा रहेकोले यहाँ खानेपानीको समस्या छ । केन्द्रिय विद्युत नभएकोले सोलारबाट विद्युत उत्पादन गरी व्याकअप व्याट्री समेत जडान गरिएपछि सेवा प्रवाह चुस्त भएको छ ।

धुलाम्ले छाप्रामा बसेर पढ्ने बालबालिका पक्की भवनमा
यो त वडा नं. २ ले थालेको कामको एउटा उदाहरण मात्रै हो । शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतमा सुधार गर्ने लक्ष्यले वडाले प्राथमिकताको आधारमा तयार भएका कार्यक्रमहरु संचालनमा ल्याउन थालेको छ । ‘छाप्रोमा बसेर पढेका बालबालिकालाई अब पक्की भवनमा बसेर पढ्ने बनाएका छौं’ वडा अध्यक्ष कुविकर बिकले भने, ‘कक्षा कोठाभित्र पनि पाठ्य सामाग्री र आधुनिक प्रविधि चाहिन्छ भनेर कम्प्युटर शिक्षाको पनि काम गरेका छौं ।’ छाप्रोमा धुलैधुलो भएर पढ्न बाध्य बालबालिकाहरु अहिले त आधुनिक घरमा बसेर पढ्न पाएका हुन् ।

दशक अघिसम्म रत्नराज्य माध्यमिक विद्यालयको भवनको अवस्थाबाट अहिले आएको सुधारले त्यसको उदाहरण दिन सकिने बिकले बताए । छाप्राहरु पूर्ण अन्त्य गर्ने लक्ष्यले वडा भित्रका ८ वटा विद्यालय पक्की बनेका छन् । ती विद्यालयभित्र आइसिटी ल्याब पनि बनेका छन् । रत्नराज्यसहित जनहित, हिमालय, बराह आधारभूत विद्यालयसम्म पुग्दा यो परिवर्तन भएको देख्न सकिन्छ ।

निसीखोलाको आफ्नै पाठ्यक्रम
त्यसो त चालु शैक्षिक वर्षदेखि निसीखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम पनि बनाएर लागू गरेको छ । यो पाठ्यक्रमले विद्यार्थीको सिकाइमा गुणात्मक सुधार आउने गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताए । वडा नं. ५ र ६ का बालबालिकालाई पाठ्यक्रमबाट खाम भाषा समेत पढाइ हुने गरेको छ । अन्य वडामा नेपाली भाषामा पढाइ भएको हो । उक्त पाठ्यक्रममा पर्यटकीय, धार्मिक र अन्य क्षेत्रको बारेमा पालिकाभित्रकै विषय समावेश छ । जसका कारण बालबालिकाले पर्यटकीय क्षेत्रको बारेमा सजिलै बुझ्न पाएका छन् । धर्म र संस्कृतिबारे पनि निसीखोलामा संचालन भएका नाच, जात्रा समेतलाई समावेश गरिएको छ । उक्त संस्कृतिबारे पनि बालबालिका जानकार बनेको घर्तीले बताए ।

वडाभित्रै झण्डै ४० किमी कच्ची सडकको संजाल विकास भैसकेको छ भने मुकाम रहेको स्थानमा मध्यपहाडी लोकमार्गको पहुँच बढाएको छ । केही वर्षअघि भएको बाढी पहिरोको समस्यामा परेका १७ घरलाई पुननिर्माण गरेर सुरक्षित स्थानमा बस्ने व्यवस्थापन गरिसकिएको छ । जुग्जाखोला बाढी नियन्त्रणका लागि तटबन्ध गरेर बस्ती र सडक सुरक्षित बनाइएको छ । कान्लेचौर र टारीखेतमा सिंचाइ व्यवस्थापन गरिएको छ । कृषि फसल र ताजा तरकारी उत्पादनका लागि कान्लेचौरका किसानले मेहेनत गरेका छन् । गण्डकी प्रदेश सरकार र संघिय सरकारको बजेट समेत परिचालन गरेर यहाँको सिंचाइ कुलो बनाउने काम भैरहेको हो ।

जातिय विभेद र महिला हिंसाविरुद्व सचेतनाका कार्यक्रम
वडा नं. २ मा दलीतको बसोबास पनि छ । त्यसैले जातीय विभेद भोग्ने धेरै छन् । विभेद नभोगेकाहरुले पनि सामाजिक रुपमा अगाडि बढ्न सकेका छैनन् । त्यसैले विभेदविरुद्व सचेतना कार्यक्रम संचालन गर्ने, महिला हिंसा अन्त्यका लागि तालिम र सचेतनाका अभियान संचालनमा पहल गरिएको छ । नीति र कानूनले दिएका अधिकार उपयोग गर्न ती सचेतनाका कार्यक्रमले सहयोग पुग्दै गएको स्थानीय शर्मिला विकले बताइन् । पछिल्लो समय त सचेतनाका कार्यक्रमकै प्रभाव स्वरुप महिलाहरुले नियमित गर्भ परीक्षण गर्न स्वास्थ्य संस्थामा पुग्न थालेका छन् । वडा नं. २ को कान्छी बजारमा पनि आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । उक्त इकाइले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यका लागि बढी फाइदा पुगेको अनमी बिमला नेपालीले बताइन् । नजिकै खोप क्लिनिक पनि संचालनमा छ । जहाँ गर्भवती महिलादेखि बालबालिकाले पाउनुपर्ने खोपको व्यवस्थापन हुने गरेको छ ।

संभावना छन्, स्थानीय श्रोतले पुरा गर्न कठिन छ
कुबिर विक
वडा अध्यक्ष
वडा नं. २ निसीखोला गाउँपालिका, बागलुङ

निसीखोला गाउँपालिका सदरमुकामबाट जिल्लाकै टाढाको पालिका हो । भौगोलिक कठिनाइले यो पालिका विकास निर्माण, सचेतना र अन्य सेवा प्रवाहबाट पनि प्रभावित छ । मध्यपहाडी लोकमार्गले जोडेकोले पालिकाको तल्लो तटीय क्षेत्रमा भने सहज यातायातको व्यवस्था छ । अर्नाकोट, उपल्लो व्याङग्री, हर्पे, जस्ता बस्तीहरु बढी समस्यामा छन् । ती स्थानका बासिन्दाले पिकासको फल पाउन सकेका छैनन् । बरु वडा र सामुदायिक स्वास्थ्य इकाइको सेवा पाउनका लागि पनि पैदल हिंडेर आउन बाध्य छन् । कतिपयले वडाको सेवा लिएर घर फर्कन पनि भ्याउँदैनन् ।

वडा र पालिकाको सिमित साधन र श्रोतबाट विकासका केही योजना वडाका बस्तीसम्म लैजाने प्रयास गरेका छौं । त्यो पर्याप्त भएको छैन । ठूलो भूगोल र अप्ठ्यारा सडकले गर्दा ती बस्तीसम्म समस्या बुझ्न पनि पुग्न सकिंदैन । अर्नाकोट लगायतका बस्तीमा खानेपानीको सास्ती छ । कतिपय स्थानमा सडकले बस्ती जोड्नुपर्ने बाध्यता छ भने शिक्षालाई अझै प्रभावकारी बनाउनुपर्ने छ ।

हामीले केन्द्रीय तहसम्म योजना बनाएर माग्ने, पाउने भन्ने पहुँच पु¥याउन सकेका छैनौं । जिल्लाबाट निर्वाचित सांसदले केन्द्रको नीति र कार्यक्रमसम्म जोडिदिनुपर्छ । बजेटको सुनिश्चितता भएमा धेरै योजना बनाएर जनताको सहभागितामा काम गर्न सक्छौं । कृषि उत्पादन, पशुपालनतर्फ हामीले धेरै काम गर्न सक्छौं । तर बजेट अभाव छ । कृषि उत्पादनलाई बजारसम्म लैजाने काम पनि चुनौतीको छ ।

बाल विवाह हाम्रो समाजको सामाजिक समस्याको बिषय हो । पहिलाको तुलनामा त धेरै कम भएको छ । तर पनि अझै यो निमिट्यान्न भएको छैन । त्यसैले सचेतनाका अभियान जोड्न जरुरी छ । किशोर अवस्थाबाट नै बालबालिकालाई पढ्दै कमाउँदै गर्ने वातावरण बनाउन सकियो भने उनीहरुले बाल विवाहबारे सोच्न पनि सक्दैनन् । अभिभावकलाई पनि छोराछोरी शिक्षा, स्वास्थ्य र रोजगारबारे जिम्मेवार बनाउने अवस्था आउने छ ।

सिंचाइको जोहो गर्न सकेमा अर्नाकोटमा स्याउ, किवी सहितका फलफूल फलाउन सकिन्छ । दृश्यावलोकनका लागि पर्यटक लैजानका लागि हामीले सडक निर्माण र भएको ट्रयाकलाई स्तरीय बनाउन करोडौं लगानी गर्न जरुरी छ । गाउँपालिका र वडाको सामान्य बजेटले त्यो संभव पनि छैन । तसर्थ संघिय सरकारको पहुँचमा पुग्ने बाहेकको विकल्प हामीसँग रहेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->