मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मुटु स्याहार्ने साथी जस्ता डाक्टर कोजु !

मुटु स्याहार्ने साथी जस्ता डाक्टर कोजु !


  • लक्ष्मण कार्की
  • चैत्र ३० २०८१, शनिबार

मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्।

श्रीमतीको रक्तचाप बढिरहेपछि हामी काठमाडौं मीनभवनस्थित एक अस्पताल पुग्यौं। प्राध्यापक समेत रहेका एक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरलाई देखायौं। उनले केही परीक्षण गर्न लगाए र तत्काल एउटा औषधि लेखिदिए। पर्सिपल्ट परीक्षणका रिपोर्ट हेरेर उनले भटाभट चार थरी औषधि लेखिदिए अनि डेढ–दुई महीनापछि फेरि आउनू भने। दुई पटकमा गरी मुश्किलले ५० शब्द जति बोलेका ती डाक्टरको पारा चित्त बुझेन।

हामी पुग्यौं धुलिखेल अस्पताल र भेट्यौं अर्का प्राध्यापक तथा वरिष्ठ मुटुरोग विशेषज्ञलाई। उनले रिपोर्ट र पहिले जँचाएको अस्पतालको पूर्जी हेर्दै थप सोधीखोजी गरे। पर्याप्त समय दिएर साथी जस्तै कुराकानी गरे। मीनभवनको अस्पतालका आफूभन्दा सिनियर डाक्टरले लेखेका औषधिबारे कुनै टिप्पणी गरेनन्। बरु मुस्कानका साथ भने, “तपाईंहरू यदि शुरूमा मकहाँ आउनुभएको भए यीमध्ये एउटा मात्र औषधि चलाउँथें।”

बिरामीलाई साथी जस्तै व्यवहार गर्ने यी डाक्टर थिए, राजेन्द्र कोजु। मीनभवनका ती वरिष्ठ डाक्टरले एकसाथ निकै कडा चार थरी औषधि लेखिदिएका रहेछन्। अन्य औषधि नखाँदा जोखिम नबढ्ने कुरामा डा. कोजुले आश्वस्त पारेपछि उनले भने अनुसारको औषधि मात्र खाने निधोमा पुग्यौं।

डा. कोजुले दिएको सुझाव र सिफारिशमा बढी आश्वस्त हुनुको कारण थियो, उनको बुझाउने शैली। उनले हामीलाई समय दिएर सरल ढंगले विस्तारमा बुझाएका थिए। एक्स-रे, ईसीजी, ईको र अन्य रक्त परीक्षणको रिपोर्ट पनि यो भनेको यो हो भनेर बुझाएपछि हामी उनले भनेका कुरामा ढुक्क हुन पुग्यौं।

उपचारको आश बोकेर पुगेका बिरामीसँग डाक्टरले राम्ररी बोलिदिए मात्र पनि आधा बिसेक भएको महसूस हुन्छ। यो अनुभव हरेक बिरामीले सँगालेको हुनुपर्छ। तर बोल्दा पैसा पर्छ कि जस्तो गर्ने, बिरामीको कुरै नसुन्ने र टन्न औषधि लेखिदिएर हत्त न पत्त बिदा गर्ने धेरै (खासगरी पाको पुस्ताका) डाक्टरका बीच केही डाक्टर भने रोगलाई बोलेरै बिसेक पार्ने खालका हुन्छन्। (उसो त एकै दिन धेरै बिरामी हेर्नुपर्दा सबैलाई पर्याप्त समय दिन नसकिने डाक्टरहरूको गुनासो छँदै छ)।

पछिल्लो समय केही डाक्टर इन्टरनेटका सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। आआफ्नो क्षेत्रको विशेषज्ञता बताएर आममानिसलाई सुसूचित गराइरहेका हुन्छन्। औषधोपचारको नियमित कामबाट फुर्सद निकालेर उनीहरू पढेर अनि परेर जानेका कुरा बुझाउन र रोगबाट बचाउन सञ्जालमा लेखिरहेका, बोलिरहेका देखिन्छन्। जुन सर्वसाधारणका लागि निकै उपयोगी भइरहेको छ। यसरी सञ्जाल मार्फत बिरामीको व्यथा घटाउन लागिपर्नेमा डा. कोजु पनि एक हुन्।

मुटुको समस्या र यसको सुरक्षाबारे कहिले लेखेर त कहिले चित्र र भिडिओ बनाएर झकझक्याइरहने डा. कोजुले भर्खरै एउटा किताब लेखेका छन्, मुटुको कथा। २३० पृष्ठको किताबमा ४१ वटा शीर्षक छन्। छोटा छोटा हरेक शीर्षकको एउटै निष्कर्ष छ, आहारविहार र जीवनशैली स्वस्थ पारौं, मुटुलाई बचाऔं।

मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर उनले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्। मुटु सम्बन्धी समस्या भएकी छोरीको बिहे नगराउन दिएको सुझाव नमानेर झन् हतार हतार बिहे गरिदिएका किशोरीका बुबा छोरीलाई स्वास्थ्य समस्या भएपछि अस्पताल आउनुपरेको अवस्था सुनाएर होस् वा चुरोट र जाँडरक्सीको बेपरवाह उपभोगले हृदयाघात भएर अस्पतालमा आएका युवाहरूको उदाहरण दिएर डा. कोजु मुटुको स्वास्थ्यमा सजग हुन सुझाव दिन्छन्।

हामी त माया गर्ने भन्ने बित्तिकै मीठोमसिनो खाने/खुवाउने र काम नगर्ने वा गर्न नलगाउने भन्ने बुझ्छौं। मुटुको सन्दर्भमा चाहिं यो कुरा उल्टो हुन्छ है भनेर उनले बुझाएका छन्। मुटुलाई माया गर्नुको मतलब जिब्रोले मीठो मान्ने गुलियो, चिल्लोपिरो, मासु, प्याकेटका खानेकुरा, जाँडरक्सी आदि होइन, स्वस्थ र सादा खानेकुरा खानुपर्‍यो। भोजभतेरमा अनि खुशी वा दुःखको कुनै न कुनै बहानामा ‘चिरिप्प पार्ने’ अनि सित्तैमा पाएपछि पेट अटेसमटेस हुन्जेल खाने पाराले मुटुको सुरक्षा नहुने भन्दै उनी झकझक्याउँछन्।

किताबमा डा. कोजु सल्लाह मात्र दिंदैनन्, आफ्नो स्वास्थ्यको ख्याल नगर्ने अनि वेलैमा दिएको सुझाव नमान्ने अटेरीहरूलाई हप्काउँछन् पनि। उपचारका लागि आएका बिरामी, उनीहरूले सोधेका प्रश्न, भोगेका सामाजिक, आर्थिक र मनोवैज्ञानिक मनोदशा समेतका आधारमा उनले यो किताब तयार पारेका छन्। यस्ता प्रश्न र भोगाइको समाधान उनले विज्ञका रूपमा दिएका छन्।

यसो गर्नू र उसो गर्नू भनेर उपदेश दिनुको साटो किताबमा उनी घरी अस्पतालमा आएका बिरामीका उदाहरण दिन्छन् त घरी गुलियो, चिल्लो खानेकुरा र चुरोट–रक्सीकै बीचमा वादविवाद र वार्ता गराएर स्वास्थ्यबारे रोचक ढंगले सिकाउँछन्। कस्ता खाना खाने र नखाने, खानेकुरा किन बार्ने भनेर जीवनमन्त्र दिन्छन्। किताब पढिरहँदा पाठकले पात्रहरूमा आफू वा वरिपरिका कसै न कसैलाई पाउँछ। देखेभोगेकै कुरा छन्, जसले हामीलाई आफ्ना राम्रा बानी र नराम्रा बानीबारे सम्झाउँछ।

हेल्थ असिस्टेन्टदेखि वरिष्ठ मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) र प्राध्यापक समेत हुँदाको अनुभवका आधारमा उनले किताबमा खुराक पस्किएका छन्। आफूले भनेका कुरा आममानिससम्म पुगोस् र धेरैभन्दा धेरैले बुझून् भन्ने हुटहुटी उनमा देखिन्छ। उनले चिकित्सा विज्ञानका कुरा पनि सजिलो गरी बताएका छन्। स्थानीय पात्र र परिवेश टपक्क टिपेर सरल भाषाशैलीमा प्रस्तुत गरेका छन्।

भनाइ नै छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। थाहा नपाएर गल्ती गर्नु एउटा कुरा, थाहा पाईपाई गल्ती गर्नु र अझ त्यो कुराले आफैंलाई असर गर्ने जान्दाजान्दै पनि दोहोर्‍याइरहनु त हेलचेक्र्याइँ नै भयो। स्वास्थ्यको मामिलामा हामीमध्ये धेरैले यस्तै गर्दै आएका छौं।

‘नमरी स्वर्ग देखिन्न’ भने झैं परेपछि मात्र चेत्ने हाम्रो बानी छ। अझ कतिपय अवस्थामा त चेत्दै नचेत्नेहरूलाई भेट्दा त डाक्टरहरूलाई पनि दिक्क लाग्दो हो। तर भनेको मान्ने बिरामी भेट्दा उनीहरू पनि फुरुंग हुने रहेछन् भनेर डा. कोजुको किताब पढ्दा थाहा हुन्छ।

समग्रमा, यो किताब मुटु जोगाउने मन्त्र हो। हामीलाई थाहा भइरहेका तर बेवास्ता गर्दै आएका सानामसिना लाग्ने, मुटुको स्वास्थ्यसँग जोडिएका संवेदनशील पाटा यसभित्र समेटिएका छन्। केही भाषागत त्रुटिले भने मीठो गाँसमा किरिकिरी लागे जस्तो बनाउँछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->