बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा बाबुकाजी केसी सर्वसम्मत रुपमा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद शाक्य, सचिवमा कृष्ण गोविन्द राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मी शाक्य, सह–सचिवमा राजन कुमार शाक्य चयन भएका छन् । यस्तै सदस्यहरुमा अजित श्रेष्ठ, सुनिल शाक्य, धना सुनार, यदुनाथ घिमिरे, दुर्गा बहादुर क्षेत्री र रञ्जना श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सहकारीको लेखा तथा सुपरिवेक्षण संयोजकमा महेन्द्र सिंह रायमाझी र सदस्यमा कल्पना शर्मा चयन भएका छन् । साधारण सभामा बोल्दै वक्ताहरुले सहकारीलाई मजबुत बनाउनको लागि संचालक र सेयर सदस्यबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिएका थिए ।
साधारणसभाको अवसरमा वर्षभरि उत्कृष्ट कारोबार गर्ने चल्ती वचत, आवधिक वचत, जेष्ठ नागरिक वचतकर्ता, दैनिक वचत, असल ऋणी र सहकारीका दुई कर्मचारीसहित ६७ जनालाई नगदसहित सम्मान गरिएको थियो ।
१७ करोड ११ लाख ८४ हजार ३ सय १ रुपैयाँ बचत रहेको सहकारीले २२ करोड ३८ लाख ८८ हजार ९ सय ७१ रुपैयाँ लगानी गरेको छ । सहकारीले राष्ट्रिय सहकारी बैंकमा ३ करोडसहित विभिन्न संघसंस्था र सहकारीमा गरी ३ करोड ११ लाख ६० हजार सेयर लगानी समेत गरेको छ । पसल संचालन गरेको सहकारीमा ६ करोड ६१ लाख ७ हजार २ सय शेयर पुँजी र ७ करोड ७ लाख ५४ हजार ७ सय ७७ रुपैयाँ कोष पुँजी रहेको छ ।





