बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्षयरोगी पहिचान गर्न कुश्मा र जलजलाका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण

क्षयरोगी पहिचान गर्न कुश्मा र जलजलाका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण


  • संजय रेग्मी
  • चैत्र ३१ २०८१, आइतबार

पर्वत/ नागरिकमा क्षयरोग सम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुई वटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा अत्याधुनिक एक्स–रे मेशिनद्वारा निःशुल्क छातिरोग खोज पड्ताल शिविर सम्पन्न गरिएको हो ।

कुश्माको शिविरमा परीक्षण गरिएकामध्ये छ जनालाई क्षयरोग निदानका लागि उपचार सुरु गरिएको छ भने १५ जना शङ्कास्पद क्षयरोगी भेटिएका छन् । भेटिएका शङ्कास्पद क्षयरोगीको निदानको लागी खकारको नमुना सङ्कलन गरिएको छ । जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को सहयोगमा भएको शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मसिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्स–रे र स्वास्थ्य परीक्षण गरेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । दिर्घरोगी, ज्येष्ठ नागरिक, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनको भनाइ छ । क्षयरोग क्यान्सरपछिको दोस्रो जटिल रोग भएकोले पनि शिविरको आयोजना गरेर त्यस्ता बिरामीहरू पत्ता लगाउनु सबैको लागि खुसीको कुरा भएको नगरप्रमुख जोशीले बताए ।

यस्तै शिविर शुक्रवार जिल्लाको जलजला गाउँपालिकामा पनि आयोजना गरिएको थियो। जलजला–४ स्थित लुङ्दी आधारभूत विद्यालयमा आयोजना भएको शिविरमा चार सय ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा पाँच जना व्यक्तिमा शङ्कास्पद समस्या देखिएको छ भने दुई जनालाई तत्कालै उपचार गर्नुपर्ने भएकोले उपचार सुरु गरिएको छ ।

यसरी दुई ओटा स्थानीय तहका कुल नौ सय ४३ जनाको परीक्षण गरिएको हो । जलजला गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत गणेश मल्लले एआई एक्स–रे प्रविधिले छाती रोगको पहिचानलाई थप सहज र छिटो बनाएको बताए । शङ्कास्पद देखिएका व्यक्तिहरूको थप परीक्षण र उपचारको व्यवस्था मिलाइने भन्दै उनले शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले गाउँमै निःशुल्क रूपमा उच्च प्रविधिको स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेको बताए ।

प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराका ल्याब टेक्निसियन राजेन्द्र रानाभाटले लाज र डरले रोग लुकाएर बस्न नहुने भन्दै टिबी स्क्रिनिङ शिविरबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् । सबै स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुँदा नडराउन, नआत्तिन तथा रोग नलुकाउन क्षयरोगका बिरामीलाई सुझाव दिए । उनले निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, खकारमा रगत लगायतका लक्षण देखिएमा क्षयरोग हुन सक्ने भन्दै शिविरमा एआई एक्स–रे मेसिनबाट बिरामीको स्वास्थ्य परीक्षण गरिने जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->