बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देशले राम पाओस् नयाँ वर्षमा !

देशले राम पाओस् नयाँ वर्षमा !


  • धनबहादुर श्रेष्ठ
  • चैत्र ३१ २०८१, आइतबार

मुक्तक-१

बेहोसीमा पनि होस होस् नयाँ वर्षमा

आलस्यबीच जोस होस् नयाँ वर्षमा

अभावै अभावमा दबिएकाहरूको पनि,

जीवन धान्न पुग्ने कोष होस् नयाँ वर्षमा।

मुक्तक-२

तिर्खाएकाहरूले प्यास मेटाउन् नयाँ वर्षमा

बिराएकाहरूले बाटो भेटाउन् नयाँ वर्षमा

कैंची हैन सियो बनेर जिउन सकियोस्,

कसैले सम्बन्धहरू नरेटाउन नयाँ वर्षमा।

मुक्तक-३

खेतबारीमा उत्पादन भव्य होस् नयाँ वर्षमा

समाज पनि झन्-झन् सभ्य होस् नयाँ वर्षमा

दोष अरूलाई देखाउँदैमा आफू सफा भइँदैन,

पूरा गर्ने आआफ्नो कर्तव्य होस् नयाँ वर्षमा।

मुक्तक-४

खराब दिनहरू सबै हटून् नयाँ वर्षमा

लागेका रिनहरू सबै घटून् नयाँ वर्षमा

जे जति हुनुपर्ने, भइरहेको छैन देशमा,

ग्रहदशाहरू सबै कटून् नयाँ वर्षमा।

मुक्तक-

भोकाहरूका लागि खाना बनोस् नयाँ वर्ष

नाङ्गाहरूका लागि नाना बनोस् नयाँ वर्ष

कोही दबिएको, हेपिएको सुन्न नपरोस् हजुर,

आवाजविहीनहरूको गाना बनोस् नयाँ वर्ष।

मुक्तक-६

सबै बालबालिका भर्ना हुन नयाँ वर्षमा

काम बढी तर कम धर्ना हुन नयाँ वर्षमा

विश्वास, सद्भावमय, सहयोग बढिरहोस्,

एक आपसमा अर्मापर्मा हुन नयाँ वर्षमा।

मुक्तक-७

गर्न चाहनेले काम पाओस् नयाँ वर्षमा

राम्रो गर्नेहरूले नाम पाओस् नयाँ वर्षमा

गोलीले ढल्नु र आगोले जल्नु नपरोस्

रावण हैन देशले राम पाओस् नयाँ वर्षमा।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->