बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८२, सोमबार
पोखरा/  झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।  तनहुँको भिमाद नगरपालिका–९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू झुलिरहेका देखिन्थे ।
हाइकर्स क्लब नेपालसँग आवद्ध भई उक्त संस्थाको आयोजनामा त्यहाँ पुगेका व्यक्तिहरू कोही तस्बिर खिचाउँदै थिए त कोही सेल्फीमा व्यस्त देखिन्थे । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ५७ श्रृङ्खला भिमादको घाङ्च ल्हुममा सम्पन्न गरेको हो ।
घाङच ल्हुमसँगै क्लबले यस श्रृङ्खलामा यसै क्षेत्रका सिद्ध गुफा र चमेरे गुफालाई पनि समेटेको हाइकर्स क्बल नेपालका अध्यक्ष कृष्ण रानाभाटले जनाए । बिभिन्न सामाजिक सञ्जालकै माध्यमबाट घाङ्च ल्हुमबारे जानकारी पाएसँगै आँफूहरूले यस श्रृङ्खलामा यस गन्तव्यलाई समेटेको उनले बताए । “क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार यस्तै नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी हाइकिङका कार्यक्रम सञ्चालन गरिहेको छ”, उनले भने, “हरेक हाइकिङका कार्यक्रम तत्तत् ठाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण बन्दै गएका छन् ।”
अग्ला अग्ला ढुङ्गाहरू, जसका तल छपक्क मिलाएर ढुङ्गा छापेर पैदल हिड्ने बाटोहरू निर्माण गरिएको छ भने चराचुरुङ्गीका लागि ठाउँ ठाउँमा गुँड र पानी खानका लागि सानासाना पोखरी बनाइएको छ । पार्क पसिरमा नै काठबाट निर्माण गरिएको चम्राली पिंग पनि छ ।
यहाँ आउने जो कोही पर्यटकले उक्त दृश्यलाई प्राचीन विश्वका सात आश्चर्यका रुपमा लिइने बेबिलोनको झुलन बगैँचासँग तुलना गरेर हेर्ने गरेका छन् । इशापूर्व छ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न निर्माण गरिएको झुलन बगैंचाको स्वरुप यस्तै किसिमको रहेको इतिहासका पुस्तकमा राखिएका तस्बिरमार्फत जान्न र बुझ्न पाइन्छ ।
विगतमा प्रचारप्रसार र बुझाइका कारण ओझेलमा परेको यो गन्तव्यलाई पछिल्लो समयमा भने संरक्षण र प्रवद्र्धन गर्न थालिएको भिमाद–९ का वडा अध्यक्ष रनबहादुर थापाले जनाए । मोहरियास्थित सामुदायिक बनमा अवस्थित घाङ्च ल्हुम बनको भित्री भागमा रहेको छ । घाङ्च ल्हुमलाई साजसज्जा गरेर चिटिक्क पारेसँगै यो स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको उनले बताए ।
मगर जातिको बाहुल्यता रहेको यस स्थानमा घाङ्च ल्हुम पनि मगर भाषाकै शव्द हो । मगर भाषमा घाङ्च ल्हुमको अर्थ अग्लो ढुुङ्गा हुन्छ । अग्ला ढुङ्गाहरू रहेकै कारण यसलाई घाङ्च ल्हुम भनिएको स्थानीयवासी बताउँछन् । अग्लाअग्ला ढुङ्गालाई चटक्क सिंगारेसँगै विगतमा उपेक्षा गरिएका यी ढुङ्गाले देश विदेशका मानिस आकर्षित गर्दा आँफूहरू निकै खुसी बनेको स्थानीय भक्तबहादुर थापाले बताए ।  वडा अध्यक्ष थापाका अनुसार २०७७ सालमा गण्डकी प्रदेश सरकारको सहयोगमा सो मातहतको डिभिजन बन कार्यालय तनहुँले यस स्थाललाई पार्कका रुपमा निर्माण गरिदिएको हो । गण्डकी प्रदेशको २० लाख रुपैयाँ सहयोगसँगै स्थानीयको १० प्रतिशत लागत साझेदारीमा निर्माण भएसँगै यो ठाउँले काँचुली फेरेको उनको भनाइ छ ।
यसलाई बगैंचाको रुप दिन ढुङ्गा वरपरको बुट्यान तथा झाडी फाँडिएको थियो । झाडी फाँडिएसँगै आकर्षण देखिएका अग्ला ढुङ्गाको बीच तथा वरपर ढुङ्गा छापेर हिड्ने पैदल मार्ग निर्माण गरिएको छ । त्यस्तै परिसरमा धुपीका विरुवा रोप्नुकासाथै ढुङ्गाको बीच बीचमा चराचुरुङ्गीका लागि गुँड र पानी पिउने साना पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने किसिमको संरचना पनि बनाइएको छ । यी सबै दृश्यका कारण पछिल्लो समयमा यो स्थान सामाजिक सञ्जालमार्फत चर्चामा आएको हो । भिमाद बजारबाट जम्मा १३ किलोमिटरको दुरीमा सवारीसाधन मार्फत यस ठाउँमा आउन सकिन्छ ।
घाङ्च ल्हुमसँगै यस क्षेत्रमा रहेका चमेरे गुफा एवम् सिद्ध गुफाको पनि प्रवद्र्धनात्मक भ्रमण गरिएको हाइकर्स क्लब नेपालका सदस्य एवम् सामाजिक सञ्जाल संयोजक पितम शेन ठकुरीले जनाए । मोहोरिया क्षेत्रका घाङ्च ल्हुमसँगै सिद्ध गुफा र चमेरे गुफालाई व्यवस्थित गर्न सकेमा यहाँ ठूलो संख्यामा पर्यटक ल्याउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->