पोखरा/ इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणी गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्टसहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वर्ष २०८२ को अवसर पारी शनिबार गुरुकुलमा त्यहाँका ८१ जना बटु्कलाई टिसर्ट सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । कार्यक्रमकै अवसरमा बटुकहरूलाई भोजन समेत गराइएको थियो ।
संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू गर्दै आएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले पर्यटनका क्षेत्रमा विभिन्न समाग्रीका माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन एगाले ठूलो योगदान पु¥याएको बताए । संस्था कुनै सानो ठूलो नहुने बताउँदै उनले एगाले पोखराको पर्यटन प्रवद्र्धनमा खेलीरहेको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बोर्डले विगतमा वर्षमा पनि एगा पोखरासँग सहकार्य गरिरहेको बताउँदै आगामी दिनमा पनि उक्त सहकार्य निरन्तर रहने जनाए । पर्यटनका क्षेत्रमा स्थानीय उत्पादनलाई प्रोत्साहनका लागि पनि एगासँग सहकार्य रहने उनको भनाइ छ । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको सभापतित्व एवम् सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यष गीता ढकाल पौडेलले गरेकी थिइन् । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको उक्त कार्यक्रमका संयोजक सुशिल ढकाल, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रम व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष मीना भट्टराई, एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्वअध्यक्ष शंकर भट्टराई, सद्भाव सदस्य गोविन्द अधिकारी लगायतले बोलेका थिए ।





