पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा निःशुल्क छातिरोग खोज पड्ताल शिविर सम्पन्न गरिएको हो ।
कुश्माको शिविरमा परीक्षण गरिएकामध्ये छ जनालाई क्षयरोग निदानका लागि उपचार सुरु गरिएको छ भने १५ जना शङ्कास्पद क्षयरोगी भेटिएका छन् । भेटिएका शङ्कास्पद क्षयरोगीको निदानको लागी खकारको नमूना सङ्कलन गरिएको छ ।
जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को सहयोगमा भएको शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेसिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्स–रे र स्वास्थ्य परीक्षण गरेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । दीर्घरोगी, ज्येष्ठ नागरिक, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनको भनाइ छ ।
यसअघि शुक्रबार जिल्लाको जलजला गाउँपालिकामा पनि आयोजना गरिएको थियो । जलजला–४ स्थित लुङ्दी आधारभूत विद्यालयमा आयोजना भएको शिविरमा चार सय ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा पाँच जना व्यक्तिमा शङ्कास्पद समस्या देखिएको छ भने दुई जनालाई तत्कालै उपचार गर्नुपर्ने भएकोले उपचार सुरु गरिएको छ ।
यसरी दुईवटा स्थानीय तहका कुल नौ सय ४३ जनाको परीक्षण गरिएको हो । जलजला गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत गणेश मल्लले एआई एक्स–रे प्रविधिले छाती रोगको पहिचानलाई थप सहज र छिटो बनाएको बताए। शङ्कास्पद देखिएका व्यक्तिहरूको थप परीक्षण र उपचारको व्यवस्था मिलाइने बताए ।
प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराका ल्याब टेक्निसियन राजेन्द्र रानाभाटले लाज र डरले रोग लुकाएर बस्न नहुने भन्दै टिबी स्क्रिनिङ शिविरबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् ।





