बागलुङ/चैतेदशैं मेला सकिएको साता नबित्दै बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आयव्याय सार्वजनिक गरेको छ । विभिन्न संस्थाले गर्ने मेला महोत्सवमा पारदर्शीताको विवाद भैरहेको बेला गुठीले तत्काल आयव्याय सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलन गरेर गुठीका अध्यक्ष कुमार खड्काले मेला अवधिमा ४८ लाख ६२ हजार ३ सय ३७ रुपियाँ खर्च भएको जानकारी गराउनुभयो । मेलाका लागि गुठी संस्थाले १० लाख रुपियाँ सहयोग गरेको थियो । उक्त सहयोगले चैत २० र २१ ग्ते धार्मिक सम्मेलन गरिएको थियो । सम्मेलनमा ८ लाख ९४ हजार रुपियाँ खर्च भएको जनाईएको छ । मेलामा ६२ लाख रुपियाँ आम्दानी भएको विवरणमा उल्लेख छ ।
यसमध्ये सबैभन्दा धेरै कालीका भगवती मन्दिरले नै २० लाख रुपियाँ सहयोग गरेको छ । त्यसबाहेक संस्थानको १० लाख, रमाइलो मेलाबाट १० लाख, विभिन्न प्रायोजकबाट ११ लाख ८० हजार, सह–आयोजकबाट ३ लाख, स्टलबाट २ लाख ४० हजार, दर्ता शुल्कबाट ९३ हजार, आर्थिक सहयोग ४ लाख ६० हजार गरी ६२ लाख आम्दानी भएको हो । पत्रकार सम्मेलन गर्दासम्म ९लाख ६४ हजार ५ सय ३७ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अध्यक्ष खड्काले जानकारी दिए ।
खर्चतर्फ कलाकारलाई ७ लाख १४ हजार, खुला भलिबल संचालन र पुरस्कारका लागि ७ लाख, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिताका लागि ६ लाख ५० हजार, अतिथि सत्कारमा ५ लाख ४४ हजार खर्च भएको छ । आम्दानीमध्ये २३ लाख उठ्न बाँकी छ । रकम प्राप्त भएपनि ती खर्च तिरेर १४ लाख रुपियाँ बचत हुने अध्यक्ष खड्काले जानकारी दिए ।





