सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ सेवा समाजद्वारा एक करोडको कोष स्थापना

बागलुङ सेवा समाजद्वारा एक करोडको कोष स्थापना


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८२, बुधबार

बागलुङ/बागलुङबाट कतारमा काम गर्न गएकाहरुको संस्था बागलुङ सेवा समाज दोहा कतारको अगुवाईमा १ करोडको अक्षयकोष स्थापना गरिएको छ । ‘कतार बहुउद्देश्यीय अक्षयकोष’ नाम दिएर यो कोष स्थापना भएको हो ।

तत्कालका लागि न्युनतम १ करोड रुपैयाँको कोष बनाएपनि करोडौं संकलन गर्ने लक्ष्य राखिएको छ । कोषमार्फत बागलुङमा हुने दैविप्रकोपको घटनामा पीडितको उद्दार, राहत र पुनस्थापनामा सहयोग गरिने समाजका संरक्षक होमनाथ शर्माले बताए । कोषकै रकमबाट विदेशमा काम गर्न जाने वा काम गरेर फर्केकाहरुलाई सीपमूलक तालिम दिने योजना छ । त्यसबाहेक पर्यटन प्रवद्र्धन, प्रवासीको तथ्यांक संकलन, सम्मान र पुरस्कार प्रदान तथा रचनात्मक काम गर्ने लक्ष राखिएको छ ।

वैदेशिक रोजगारमा गएर फर्केका युवाले गाउँ फर्केर कुनै उद्यम संचालन गर्न खोजेमा सहयोग गर्ने योजना समेत कोषको छ । औपचारिक घोषणा अप्रिलको १८ अर्थात आगामी शुक्रबार मात्र गरिने भएपनि अहिलेसम्म ५० लाख संकलन भैसकेको पत्रकार सम्मेलनमार्फत शर्माले जानकारी दिए । सन् २००५ मा स्थापना भएको समाजले कोषको आवस्यकता देखेपछि गत महिनादेखि यो अभियान शुरु भैसकेको थियो । औपचारिक कार्यक्रममार्फत शुक्रबारै एक करोड पु¥याउने लक्ष्य छ । कोषमा कतारमा काम गरिरहेका स्थानीय श्रमिकले योगदान गर्नेछन् ।

समाजका पदाधिकारीले पत्रकार सम्मेलन गरेर कोषको उद्देश्यबारे जानकारी गराए । ‘विशेषगरी दैविप्रकोपका घटनामा तत्काल उद्दार र राहत दिन सकियोस् भनेर कोष स्थापना भएको हो’ कोषका सदस्य भरत पौडेलले भने, ‘जिल्ला प्रशासनमा दर्तासहित प्रशासनकै अनुमतिमा सहयोग प्रदान गरिने छ ।’ विदेशमा काम गर्दा अप्ठ्यारोमा परेका युवालाई उद्दार गरेर ल्याउने काममा समाजले पहल गरेको छ । उनीहरुलाई समेत सहयोग गर्नुपरेमा कोषको रकम खर्च गरिने बताइएको छ ।

बागलुङदेखि कतारमा गएर काम गरेका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि छ । त्यसका लागि काम थालिसकेको शर्माले बताए । जनहितकारी कामसंगै कोषले मानवीय सेवा र प्रवासीको लागि आवस्यक जानकारीमूलक बुलेटिन पनि प्रकाशन गर्ने लक्ष्य राखिएको छ । मंगलबार भएको पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले कोषको महत्व बढेको बताए । उनले राज्य र स्थानीय सरकारको सहयोगीको रुपमा कोष संचालन हुने बताए ।

कार्यक्रममा कोषका सदस्य भरत पौडेल र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->