सांकेतिक तस्बिर
पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत एक वर्षको अवधिमा एक करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम बिकका अनुसार २०८१ सालको वैशाखदेखि चैतसम्म कुल १६ हजार तीन सय १६ वटा सवारीहरूलाई कारबाही गर्दा एक करोड ३५ लाख १९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो ।
तथ्याङ्क अनुसार वैशाख महिनामा एक हजार ४३ सवारीहरूलाई कारबाही गर्दा आठ लाख ४८ हजार, जेठमा एक हजार चार सय ६७ सवारीहरूबाट १२ लाख २६ हजार, असारमा एक हजार एक सय ३८ सवारीहरूबाट ९८ हजार पाँच सय, साउनमा नौ सय ७० सवारीहरूबाट ८४ हजार एक सय रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै भदौमा एक हजार एक सय ७४ सवारीहरूबाट ९६ हजार छ सय, असोजमा एक हजार एक सय ८४ सवारीहरूबाट ९५ हजार आठ सय, कात्तिकमा एक हजार सात ४५ सवारीहरूबाट १४ लाख सात हजार, मङ्सिरमा एक हजार छ सय ९६ सवारीहरूबाट १४ लाख २७ हजार पाँच सय उठेको छ ।
पुसमा एक हजार पाँच सय ३८ सवारीहरूबाट १२ लाख १२ हजार पाँच सय, माघमा एक हजार चार सय २१ सवारीहरूबाट ११ लाख ७६ हजार, फागुनमा एक हजार ११ लाख ७७ हजार पाँच सय र चैतमा एक हजार पाँच सय ५२ सवारीहरूबाट १२ लाख ९९ हजार पाँच सय रुपैयाँ संकलन भएको छ ।
उक्त अवधिमा एक हजार चार सय नौ वटा ट्रक÷टिपरबाटबाट १२ लाख २२ हजार, आठ सय २९ बसबाट छ लाख ७१ हजार पाँच सय, छ हजार पाँच सय ८७ कार÷जिपबाट ५३ लाख ७८ हजार, एक हजार एक सय पाँच ट्र्याक्टरबाट आठ लाख १६ हजार पाँच सय, छ हजार एक सय ७९ मोटरसाइकल÷स्कुटरबाट ५२ लाख ७५ हजार पाँच सय र अन्य दुई सय सात सवारीहरूबाट एक लाख ५६ हजार रुपैयाँ राजश्व उठेको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै कारबाहीमा पर्नेमा कार तथा जीप रहेका छन् भने दोस्रो मोटरसाइकल तथा स्कुटर रहेका छन्। राजश्व सङ्कलनका हिसाबले पनि पहिलोमा कार तथा जिप र दोस्रोमा मोटरसाइकल नै बढी रहेका छन् ।
सबैभन्दा बढी सवारीहरू कारबाहीमा परेको महिना कात्तिक रहेको छ । यो महिनामा १४ लाख सात हजार राजश्व उठेको छ । तर राजश्व सबैभन्दा बढी उठेको महिना भने मंसिर हो । यो महिनामा एक हजार छ सय ९६ सवारीहरूबाट १४ लाख २७ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।





