पर्वत / जिल्लाको बिहादी गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष परविन गुरुङले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्मको प्रगति प्रस्तुत गरेका थिए । त्यस अवसरमा उनले खानेपानी आयोजनामा सत् प्रतिशत लक्ष्य हासिल गर्ने प्रयास भईरहेको जनाए ।
अध्यक्ष गुरुङले अभिभावक शिक्षा तथा विद्यालय ब्यवस्थापन समिति, राजनैतिक दलवीच अन्तरक्रियात्मक कार्यक्रम मार्फत विद्यालयका शैक्षिक गुणस्तरमा सुधारका कामहरु भईरहेको बताए । विपन्नलाई सुरक्षित आवासको सुविधा प्रदान गरिएको उल्लेख गर्दै उने सामाजिक कुरीतिको अन्त्य गर्ने प्रयास भईरहको जनाए । दलित, विपन्न, र सिमान्तकृत समुदायलाई राहत कार्यक्रमका साथै चेतनामूलक कार्यक्रम र क्षमता अभिबृद्धि कार्यक्रमहरु चालु वर्षमा सञ्चालन भईरहेको उनको भनाई छ ।
यसैगरी संसोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष मिना तिवारीले १ करोड ४० लाख ५ हजार ६ सय ६७ रुपैंया बराबरको बजेट रकामन्तर प्रस्तुत गरिन् । तिवारीले स्थानीय श्रोत र साधनको परिचालन गर्दै दीगो विकासको लक्ष्य गाउँपालिकाले लिएको बताइन । अध्यक्ष गुरुङको प्रगति प्रतिवेदन र उपाध्यक्ष तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा गाउँसभाले पारित गरेको थियो ।
अध्यक्ष गुरुङले स्थानीय तह संस्थागत क्षमता मूल्यांकन लिजामा ७१ प्रतिशत अनुमोदनका लागि पेश गरेका थिए । अधिवेशनमा आर्थिक ऐन २०८१ समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी भुसालले बताए । अधिवेशनले चालु आर्थिक वर्षको बजेट समिक्षा सहित आगामी कार्यक्रमहरु सञ्चालन गर्ने स्पष्ट मार्गचित्र निर्माण भएको उनले दावी गरे ।





