शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षामन्त्रीको राजीनामा : जो पदमा हैन वचनमा अडिइन

शिक्षामन्त्रीको राजीनामा : जो पदमा हैन वचनमा अडिइन


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८२, मंगलबार

पोखरा/गएको माघ १७ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ । ‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन। कमाउँछु भनेर बसेको होइन। समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु ।’

नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रदेश परिषद्मा विद्याले बोलेका कुरालाई धेरैले पत्याएनन् । नेपालको राजनीतिमा पाएको पद कसले पो छाडेको छ र ? विद्या ‘अपवाद’ बन्छिन् भन्ने कल्पना नगर्नु अस्वभाविक थिएन । तर, उनै विद्याले शिक्षा विधेयक एवं शिक्षक आन्दोलनको पिरलोले थिचिएकै अवस्थामा मन्त्रीबाट राजीनामा दिएकी छन् । माघ १७ गते जसको अगाडि उनले राजीनामा दिने सुनाएकी थिइन्, अहिले त्यही संगठन उनीविरुद्ध सडकमा छ ।

उनको सचिवालयका एक सदस्यका अनुसार मन्त्रीको सपथ लिँदा पनि उनले भनेको कुरा ठ्याक्कै त्यही थियो । ‘काम गर्न नसके राजीनामा दिन्छु भनेर उहाँले भन्नुभएकै थियो,अहिले उहाँले आफ्नो वचन पूरा गर्नुभएको हो,’उनको सचिवालयनिकट स्रोतले भन्यो,‘बाँकी कुरा त यहाँहरुले पछि थाहा पाइहाल्नु हुन्छ नि ।’

विद्या भट्टराईलाई पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको धर्मपत्नीको रुपमा सम्झनेहरु धेरै छन् । तर, विद्या असल गृहिणी र आमामात्र थिइनन् । राजनीतिक चेतले भरिएकी महिला थिइन् । २०२९ सालमा काठमाडौंमा जन्मेकी उनी पति रविन्द्रजस्तै १२ वर्षको उमेरमै एमालेको भातृ संगठन अखिलमा गोलबन्द भएकी थिइन् ।

उनको सचिवालयका अनुसार २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेर नेकपा (एमाले) वडा कमिटी सदस्य बनेकी थिइन् भने २०४९ मा उनी अखिलबाट पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिको उम्मेदवार पनि थिइन् । २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख र २०५५ सालमा केन्द्रीय सचिव बनेकी उनको २०५६ साल असार ६ गते एमाले नेता रवीन्द्रसँग विहे भएको थियो । त्यसपछि चाहिँ उनी पतिको सक्रिय राजनीतिक यात्राको सारथि बनिन् ।

राजनीति बुझेकै थिइन् तर उनले त्यो बाटो रोजिनन् । बरु, २०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापन सुरु गरिन् । महिला हिंसा अत्यसँगै अधिकार रक्षाको लागि पैरवि गरिरहिन् । २०७५ साल फागुन १५ गतेसम्म सबै ठीकठाक थियो । तर, एकाएक उनको जीवनमा बज्रपात भयो । पर्यटनमन्त्री भएकै बेला रवीन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो । पति वियोगको क्षणमा पनि उनी राजनीतिमा हामफाल्ने मनस्थितिमा थिइनन् । तर, पार्टीले रवीन्द्रको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ का निम्ति एमालेले उनलाई नै उम्मेदवार बनायो । २०७६ सालमा भएको सो चुनावमा उनले कांग्रेसका पाका उम्मेदवार खेमराज पौडेललाई सहजै पराजीत गरिन् । उनको संसद यात्रा सुरु भयो । सदनमा उनले महिला अधिकारदेखि शिक्षालगायतका विषयहरु उठान गर्ने मामिलामा आफूलाई अब्बल सावित गरिन् । २०७९को चुनावमा पनि एमालेले उनलाई कास्की क्षेत्र नम्बरबाट उम्मेदवार बनायो । प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराललाई पराजीत गरेपछि उनको दोस्रो संसद यात्रा सुरु भयो । दोस्रोपटक प्रत्यक्ष विजयी बनेपछि विद्यालाई मन्त्री बनाइने हल्ला स्वभाविक थियो । तर, एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री हुँदा उनलाई मन्त्री बनाइएन । तर, कांग्रेसको समर्थनमा ओली नै प्रधानमन्त्री बन्दा भने उनी पहिलो रोजाइमा परिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठलाई विस्थापित गर्दै उनी शिक्षामन्त्री बनिन् । लामो समय कलेजमा प्राध्यापन गरेकी विद्यासँग अरु मन्त्रीभन्दा बढी आशा गरिएको थियो । विश्वविद्यालयमा व्याप्त बेथिति अत्यको आशा पनि थियो । तर,पोखरामै हुँदा संगत गरेकी त्रिभुवन विश्वविद्यालयका कुलपति डा. केशरजंग बराललाई उनले रोक्न सकिनन् । राजीनामा फिर्ता गराउने कोसिस सफल भएन । शिक्षा विधेयक सदनमा पेश गर्न भरमग्दुर प्रयास गरिन् तर त्यसमा पनि सफलता हात लागेन । शिक्षकहरु सडकमा निस्कँदा समस्या समाधानको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रालय धाउँदा पनि परिणाम निस्केन । र, अन्त्यमा उनी वचनमा पक्का देखिइन् । सक्दिन भन्ने लागेपछि खुसुक्क राजीनामा दिइन् ।

वनमन्त्री हुँदा नैतिकताकै आधारमा राजीनामा दिनेहरु
विद्याले नैतिकताको आधारमा राजीनामा दिइरहँदा उनले स्वच्छ छवियुक्त नेताको परिचय बनाएकी शैलजा आचार्य र पञ्चायतकालीन शिक्षामन्त्री केशरबहादुर विष्टको पदचाप पच्छ्याएकी छन् । शैलजाले मन्त्रिपरिषद्मा कुरा नमिलेपछि कृषिमन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले मन्त्रालयमा भ्रष्टाचार मौलाएको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । तत्कालीन शिक्षामन्त्री विष्टले चाहिँ २०४५ सालमा हावाहुरीका कारण दशरथ रंगशालामा ७१ जना नागरिकको ज्यान गएपछि नैतिकताको आधारमा राजीनामा दिँदै उच्च नैतिकता प्रदर्शन गरेका थिए । नैतिकताकै आधारमा राजीनामा दिनेमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको पनि नाम आउँछ । उनले सिंहदबारमा आगलागीको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका थिए । बीपी कोइरालाले २००८ सालमा विद्यार्थी नेता चिनियाकाजीको मृत्युको नैतिक जिम्मेवारी लिँदै राजीनामा बुझाएका थिए । विवादित अभिव्यक्ति र परिस्थितिमा राजीनामा दिनेहरुको फेहरिस्त चाहिँ लामै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->