म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ वर्षीय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस भई ढलेका थिए । उपचारका क्रममा बेनी अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलका अनु्सार आइतबार साढे चार बजे चिकित्सकले मृत घोषित गरेको बताए । मृतक चौधरी टुन्डीमा मेकानिकलको रुपमा कार्यरत थिए ।
यसैबीच टुन्डी पावर कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानूनी कारवाहीको माग गरेका छन् ।
टुन्डी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागिसमेत आनकानी गर्ने गरेका छन् ।





